| | |

इतिहास र संस्कृति संरक्षण गर्न निसान प्रदर्शन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३० । नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदायले करिव दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन् । आफ्नो संस्कृतिको संरक्षण गर्न र इतिहासलाई जीवित राख्न लिम्बू समुदायले निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएका हुन् ।
विकसित आधुनिकतासँगै संस्कृति कर्मको पुस्तान्तरण नहुँदा साथै पछिल्लो पुस्ताले पुरानो संस्कारलाई अनुशरण नगर्दा कतिपय संस्कार–संस्कृति लोप हुँदै गएका छन् । संस्कति लोप हुँदा इतिहास पनि समाप्त हुनेभन्दै लिम्बू समुदायले निसान प्रदर्शनलाई भने निरन्तरता दिँदै आएका छन् । पुरानो ऐतिहासिक संस्कृतिको जगेर्ना साथै संरक्षण गर्ने उद्देश्यले नै निसान प्रदर्शनलाई निरन्तरता दिइरहेको लिम्बू समुदायका अगुवा बताउँछन् ।
इतिहास र संस्कृति संरक्षण गर्नकै लागि अहिले पनि निसान प्रदर्शन गर्दै आएको श्री कम्पु र श्रीजंगी निसान संरक्षण समितिका सचिव महेन्द्र सेलिङ लिम्बूले जानकारी दिनुभयो । पुरानो परम्पराअनुसार प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन निसान प्रदर्शन गर्ने गरिएको समितिका सचिव सेलिङले बताउनुभयो । उहाँका अनुसार वि.सं १८९५ देखि ऐतिहासिक निसान निरन्तर प्रदर्शन गरिँदै आएको छ ।
दसैँको महानवमीको दिन पाँचथरको याङ्वरक गाउँपालिकास्थित थर्पूको कालिका भगवती मन्दिर परिसरमा निसान प्रदर्शन गर्ने गरिएको छ । वि.सं १८९५ देखि कम्पु नामको निसान र १९१२ देखि श्रीजंगी गरी दुई वटा निसान प्रदर्शन गरिँदै आएको श्री कम्पु र श्रीजंगी निसान संरक्षण समितिले जनाएको छ । लिम्बू समुदायको इतिहासको प्रतीक र संस्कृतिको रुपमा उक्त दुई वटा निसान प्रदर्शन गर्दै आएको समितिका सचिव सेलिङको भनाइ छ ।
ऐतिहासिक नगरा बाजा, युद्धकालीन समयमा प्रयोग भएका भाला, खुँडा, खुकुरी, घण्टी र तरवारजस्ता प्राचीन हतियारसहित निसान प्रदर्शन गर्ने गरिएको छ । नेपाल एकीकरणका समयमा तत्कालीन राजा पृथ्वीनारायण शाहबाट पल्लो किराँतका लिम्बूहरूलाई उपहारस्वरुप कम्फु र श्रीजंगी नामको दुई वटा निसान हस्तान्तरण गरिएको भन्ने भनाइ छ । राजा पृथ्वीनाराणले त्यसबेला उपहारस्वरुप दिएको निसानको प्रतीक नै अहिलेसम्म यहाँका लिम्बू समुदायले संरक्षण गर्दै आएको बताइएको छ ।
ऐतिहासिक निसान त्यसबेला १६९ थान प्राचीन हातहतियार र अन्य सामग्रीसहित ५२ सुब्बाले बुझेका इतिहास रहेको समितिका सचिव सेलिङ बताउनुहुन्छ । त्यसबेला सुब्बाहरुले निसान बुझेपछि उनीहरुले नै आलोपालो गर्दै निसान प्रदर्शनसहित संरक्षण गर्दै आएका थिए । समय बित्दै जाँदा परिवर्तित परिस्थितिसँगै त्यसबेलाका सुब्बा परिवारबाट निसानको संरक्षण हुँदै आएको र २०७५ साल पछिदेखि भने श्री कम्पु र श्रीजंगी निसान संरक्षण समिति गठन गरी निसानको संरक्षण गर्न थालिएको छ ।
समिति बनेपछि निसान संरक्षणसँगै परम्परा अनुसार नै दसैँको महानवमीका दिन निसान प्रदर्शन गर्न गरिँदै आएको छ । यसवर्ष पनि दसैँको नवमीका दिन दुई वटै निसान भव्य रुपमा प्रदर्शन गरिएको छ । दसैँको घटस्थापनादेखि किराँत लिम्बूको परम्पराअनुसार पूजा सुरु हुने र महानवमीको दिन दिनभर निसान प्रदर्शन गरी राँगा काटेर बली चढाएपछि अर्को दसैँ अर्थात एक वर्षसम्म निसान थन्क्याउने चलन रहेको समितिले जनाएको छ ।
यता थर्पूको कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिने निसान दर्शन तथा दृश्यावलोन गर्न पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, इलाम लगायतका जिल्लाबाट सर्वसाधारणको जमघट हुने गरेको बताइएको छ । लिम्बूलगायत सबै समुदायका नागरिकले निसानको दर्शन साथै दृश्यालोकन गर्ने गर्दछन् । निसानको दर्शन गर्नाले दुर्गा भवानीको शक्ति प्राप्त हुने र सोचेको, चिताएको मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

Similar Posts