चाँगेमा सञ्चालित आँखा शिविरबाट साढे ५ सय बढीले लिए सेवा,१ सय ४० जनालाई निःशुल्क चश्मा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ५ को आर्थिक तथा नेपाल नेत्रज्योति संघ ताप्लेजुङको प्राविधिक सहयोगमा चाँगेमा सञ्चालित उज्यालो आँखा शिविरमा साढे बढीले सेवा लिएका छन् ।
समुदाय र बिद्यालय दुबै तहमा आँखा स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार ३,४ र ५ गते आठराई त्रिबेणी गाउँपालिका वडा नं ५ चाँगेमा उक्त शिविर आयोजना गरिएको थियो । ३ गते महिला स्वास्थ्य स्वयंसेविका,आमा समूह र स्थानीय गरी २६ सरोकारवालालाई प्राथमिक आँखा स्वास्थ्य सेवा तालिम प्रदान गरिएको थियो । सुनौलो आँखा संसार शिविर अन्तरगत समुदाय तहमा २ सय ८४ जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १ सय ४० जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थेबेले जानकारी दिनुभयो ।
थेबेका अनुसार बिद्यालय तहमा २ सय ४६ जना बिद्यार्थीको आँखाको परीक्षण गरिएको थियो । सो क्रममा ६ जनालाई थप उपचारका लागि दोभान आँखा उपचार केन्द्रका लागि रेफर गरिएको थेबेले जानकारी दिनुभयो । कुल ५ सय ५६ जनाको आँखाको परीक्षण गरिएको उपचारमा संलग्न टोलीले जनाएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र फुङलिङ तथा दोभान आँखा उपचार केन्द्र दोभानका आँखाका प्राविधिकहरुले आँखाको परीक्षण तथा उपचार गरेका थिए ।