ढङढङ्गे झरनाको प्रचारप्रसारका लागि सिदिङवाको गाउँसभा अधिबेशन झरनास्थलमै,असार ५ मा तोकियो गाउँसभा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३० । पर्यटकीय स्थल ढङढङ्गे झरनाको प्रचारप्रसारका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले यसपटकको १७ औं गाउँसभा अधिबेशन ढङढङ्गे झरनामा गर्ने भएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार असार ५ गते बिहीबारका लागि पालिका अध्यक्ष मानबहादुर राईले १७ औं गाउँसभा अधिबेशन आवह्वान गरेका छन् । सिदिङवा गाउँपालिकाले असार ५ गते नै आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । अधिबेशन कार्यसूची अनुसार पालिका अध्यक्ष राईले आगामी आवका लागि नीति र कार्यक्रम प्रस्तुत गर्नुहुने छ । सभामा पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले आगामी आर्थिक बर्षको आर्थिक बिधयेक तथा बिनियोजन बिधयेक २०८२ प्रस्तुत हुने कार्यसूची रहेको पालिकाले जनाएको छ । स्थानीय तहका प्रमुखले नीति तथा कार्यक्रम तथा उपप्रमुखले बजेट पेश गर्ने प्रावधान रहेको छ ।

सभाका सदस्य सचिव तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार सभामा मध्यकालिन खर्च संरचना प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । सभामा छात्राबृत्ति बिधयेक २०८२,नियमित गर्नुपर्ने बेरुजुको विवरण नियमितका लागि पेश,चालु आर्थिक बर्षको खर्चको प्रस्तुति,संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिबेदन पेश सहित र गाउँपालिका अध्यक्ष राईले विविध प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले यसपटकको गाउँसभा अधिबेश झरनास्थलमै राखेको पालिकाले जनाएको छ । मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनाको अवलोकनका लागि पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको चहलपहल समेत बाक्लो हुन थालेको छ ।

सिदिङवा गाउँपालिकाले पछिल्लो समय पालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि बिभिन्न कार्यक्रम तथा गतिविधि गर्दै आइरहेको । श्रिङ्ग ऋषिले कठोर तपश्या गरी वर प्राप्त गरेको ठाउँको रुपमा परिचित सिदिङवा धामको प्रचारप्रसारका लागि पालिकाले गत जेठ १५ देखि १७ गते प्रथम सिदिङवा धाम पर्यटन महोत्सव समेत सम्पन्न गरेको थियो । यसअघि प्रथम तिम्बुङ पोखरी पर्यटन महोत्सव समेत सञ्चालन भएको थियो । सिदिङवा क्षेत्रमा ढङढङ्गे झरनासहित तिम्बुङपोखरी,सिदिङ्मा धाम,चमेरे गुफासहितका दर्जनौं पर्यटकीय स्थलहरु रहेका छन् ।

Similar Posts