|

मैवाखोलामा जनश्रमदानमार्फत सडक मर्मत गरिँदै

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङस्थित मैवाखोला गाउँपालिकाको अगुवाइमा जनश्रमदानमार्फत स्थानीय ग्रामीण सडकको मर्मत गरिएको छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका र स्थानीय बासिन्दाको संयुक्त श्रम सहभागितामा ग्रामीण सडक मर्मत तथा पुनर्निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार मुख्यमन्त्री ग्रामीण सडकको चाँगे–मानेडाँडा–चित्रे–भुसुने–मुढे–लाली–बुङ्दाक खण्डमा जनश्रमदानमार्फत मर्मत गरिएको छ । यातायात सञ्चालनमा कठिनाइ हुनेगरी खाल्डाखुल्डी भएको तथा जोखिमयुक्त र जीर्ण भएको ठाउँमा मर्मतसुधार गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष वनेमकै नेतृत्वमा शनिबार उक्त सडक खण्डको मर्मत गरिएको गरिएको हो । सडक मर्मतका लागि श्रमदान गर्न मैवाखोला गाउँपालिका–१ र वडा नम्बर २ ढुङ्गेसाँघुका करिब १५० जना स्थानीय सहभागी भएका थिए । झम्पल, गैँती, बेल्चा, काँटा, कोदालो लगायतका घरेलु औजारहरूसहित सडक मर्मतमा श्रमदान गर्न स्थानीय सहभागी भएका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पाँचवटा ट्रयाक्टर र एउटा ब्याक हो लोडर (जेसीभी) को व्यवस्थापन गरेको थियो । यस्तै स्थानीय व्यवसायी तेज चोङबाङ, जयप्रसाद भट्टराई र भानु वनेम लिम्बूले ट्रयाक्टर उपलब्ध गराउनुभएको थियो । यता जनश्रमदानमार्फत सडक मर्मत गरेकाले यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो ।

Similar Posts