एचपिएफको अभिभावक लक्षित पढ्दै–कमाउँदै स्वरुपको उद्यमशिलता कार्यक्रमः१८०० प्रतिशतसम्म आम्दानी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । आर्थिक रुपले विपन्न ताप्लेजुङको थुम्बेदिनका श्रीकृष्ण कार्कीले ह्युमन प्राक्टिस फाउण्डेसन(एचपिएफ)मार्फत प्राप्त भएको ५० हजार घुम्ति कोषबाट १० लाख २५ हजार रुपैयाँ आम्दानी गर्नुभयो ।
घुम्ति कोषको रकम बाख्राबस्तु पालन र तरकारी खेतिमा लगानी गरेका कार्कीले घुम्ति कोष फिर्ता गर्न लामो समय पर्खनु परेन । चारबर्षसम्ममा फिर्ता गर्दा हुने घुम्ति कोषको रकम समयअघि नै फिर्ता पनि गरिदिनुभयो । बस्तुबाख्राको मल तरकारी खेतिमा लगाउनुभयो । अर्गानिक तरकारीमा जोड दिनु भएका उहाँको उत्पादनले स्थानीय बजारमा राम्रै भाउपनि पायो । फुङलिङ बाँझोगराका हस्तबहादुर तामाङ घुम्ति कोष परिचालनबाट राम्रो आम्दानी गर्दै आफ्ना छोराछोरीको पढाई सहज बनाउने अर्का पात्र हुनुहुन्छ । घुम्ति कोषबाट लिएको ५० हजारबाट किनेका गाई र बाख्राले राम्रो आम्दानी दिएपछि सुरुमा कोठा भाडामा बसेर छोराछोरी पढाउने उनी अब थपथाप गरेर आफ्नै घर बनाउने सुरुमा हुनुहुन्छ ।
झण्डै–झण्डै पढ्दै–कमाउँदै कार्यक्रमको स्वरुपमा एचपिएफले सञ्चालन गरेको लघु उद्यमशिता कार्यक्रमले विपन्न बिद्यार्थीका अभिभावकलाई आर्थिक उर्पाजनमा बलियो टेवा पुर्याएका केहि उदाहरण हुन् यि । एचपिएफ अन्तरगत उक्त कार्यक्रम संयोजक नरेन्द्रप्रसाद कटुवाल देख्दा सानो जस्तो देखिने घुम्ति कोषको सहि उपयोग गरेर विपन्न परिवारले बढाएको आम्दानीले चकित बनाउँदै लगेको बताउँनुहुन्छ । उहाँका अनुसार घुम्ति कोष लिएर उद्यमशिलता कार्यक्रममा लगानी गरेका अभिभावकले अधिकतम् १ हजार ८ सय प्रतिशतसम्म आम्दानी गरेका छन् । जसका एकपात्र हुनुहुन्छ,पाथीभरा याङवरक वडा नं ६ थुम्बेदिनका कार्की । उहाँकी छोरी देविका सारदा मावि थुम्बेदिनकी छात्रा हुनुहुन्छ ।
विपन्नताका कारण पढाईको पहुँचमा पुग्न नसकेका र पढाई निरन्तरता दिन नसकेका बालबालिकालाई उक्त समस्या हल गर्न एचपिएफले विपन्न बिद्यार्थी अभिभावकहरुलाई घुम्ति कोष परिचालन गरेर उद्यमी बनाउने प्रयास गरेको छ । एचपिएफका जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठ घुम्ति कोषको सहि सदुपयोग हुन सकेको खण्डमा सानो रकमबाट पनि बिद्यार्थीका अभिभावकले ठूलै आर्थिक उर्पाजन गरी आफ्ना सन्ततीको पढाई व्यवस्थापन सहज बनाउँछन् भन्ने पुष्टी भएको बताउँनुहुन्छ ।‘यो कार्यक्रम बिद्यालयको आर्थिक अभावकै कारण बिद्यालयको पहुँचमा पुग्न नसकेका र पढाईलाई निरन्तरता दिन नसकेकाहरुका लागि वरदान सावित हुँदै गएको छ’उहाँले भन्नुभयो । एचपिएफले आफ्नो कार्यक्रम क्षेत्र भएका बिद्यालयहरुले आफैं छनौट गरेका बिद्यार्थीहरुका अभिभावकलाई घुम्ति कोष बितरण गर्ने गर्छ । सुरुमा ४ बर्षसम्ममा फिर्ता गर्दा हुने घुम्ति कोष अहिले तीनबर्षमा फिर्ता गरिसक्नुपर्ने नियम बनाईएको छ ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकलाई आर्यआर्जन र स्थानीय रोजगारी सृजनाका लागि एचपिएफले प्रति अभिभावक ५० हजार रुपैयाँसम्म निर्ब्याजी लगानी गर्छ । घुम्ति कोष मास्न पाइन्न । तर निर्ब्याजी चलाएर फेरि सम्वन्धित बिद्यालयको कोषमै जम्मा गर्नुपर्छ । बिद्यालयले कोषमा रकम आएपछि फेरि विपन्नताको स्तरीकरण गर्दै घुम्ति कोष परिचालनको निर्णय गर्छ । लगानीको उपयोगिता बारे एचपिएफले नियमित अनुगमन गर्ने गरेको छ । श्रेष्ठका अनुसार आर्थिक सशक्तीकरण अन्तरगत लुघ उद्यम विकास कार्यक्रम अन्तरगत ताप्लेजुङमा अहिलेसम्म २ सय ३१ जना बिद्यार्थीका अभिभावक घुम्ति कोष कार्यक्रममा सहभागी भएका छन् । तिमध्ये २९ जना अभिभावकले घुम्ति कोषको रकम फिर्ता गरिसकेको एचपिएफले जनाएको छ ।
कार्यक्रमको गुणस्तरीय प्रभावकारिता देखेपछि पूर्वाधार सहितका अन्य कार्यक्रममा ताप्लेजुङबाट हात झिकी पाँचथर,तेह्रथुम र धनकुटा केन्द्रित हुन लागेको एचपिएफले ताप्लेजुङमा पनि केहि समय घुम्ति कोष परिचालन हुने उद्यमशिलता कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो कार्यक्रमका कार्यक्रम संयोजक कटुवालका अनुसार अझै ताप्लेजुङका १ सय ३६ अभिभावकमा उद्यमशिलता कार्यक्रममार्फत घुम्ति कोष सहयोग गरिन्छ । कटुवालका अनुसार धनकुटामा एकहजार जनालाई,पाँचथरमा १ सय ३७ जनालाई र तेह्रथुममा ६० जना अभिभावकलाई घुम्ति कोषमार्फत सहयोग गर्ने एचपिएफको तयारी छ ।
ताप्लेजुङमा २ सय ३१ जनालाई घुम्ति कोष रकममार्फत १ करोड १५ लाख ५० हजार रुपैयाँ एचपिएफले सहयोग गरेको छ । घुम्ति कोष लाने अभिभावकले ६२ लाख ८६ हजार ३ सय २६ रुपैयाँ स्वलगानी पनि गरेका छन् । कुल लगानीका आधारमा घुम्ति कोष रकम लानेहरुले ३ करोड ५६ लाख २६ हजार ७ सय ७२ रुपैयाँ आम्दानी गर्न सकेको एचपिएफले तथ्याङ्क संकलन गरेको छ ।