| | |

पाथीभरा केबलकार परियोजनाप्रति स्थानीय तहको असन्तुष्टि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकार परियोजनाप्रति स्थानीय तहले असन्तुष्टि व्यक्त गरेका छन् । प्रभावित क्षेत्रअन्तर्गत रहेका स्थानीय तहले कुनै समन्वय र जानकारी बिना केबलकार परियोजनाको कामलाई अघि बढाएकोभन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रभावित क्षेत्रअन्तर्गत यहाँको सिरिजंघा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले प्रेस विज्ञप्ति नै जारी गर्दै परियोजनाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सिरिजंघा गाउँपालिकाले बुधबार विज्ञप्ति प्रकाशित गर्दै परियोजनाको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) आधिकारिक रुपमा सार्वजनिक नगरी साथै परियोजना कार्यान्वयनबारे कुनै जानकारी नदिई प्रक्रिया अघि बढाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान र उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले जारी गर्नुभएको विज्ञप्तिमा परियोजना प्रभावित तथा स्थानीय सरकारको हैसियतमा रहेको स्थानीय तहसँग संस्थागत समन्वय र सहकार्य नगरिएको उल्लेख छ । यस्तै परियोजनामा निर्माण हुने भौतिक पूर्वाधारहरुको मापदण्ड, भविश्यमा हुने राजस्व (आम्दानी) बाँडफाडसम्बन्धी प्रक्रियाका विषयमा छलफल नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै ऐतिहासिक क्षेत्रको मौलिकता र दिगो विकासलाई ध्यान नदिई पाथीभरा क्षेत्र केबलकार निर्माणको प्रक्रिया सुरु गरेकोमा पनि गाउँपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ । पाथीभरा सिरिजंघा गाउँपालिकाकोसमेत भौगोलिक क्षेत्रमा पर्ने उल्लेख गर्दै परियोजनाको निर्माणको काम तथा यहाँको मौलिकता बनाउने कार्यमा गाउँपालिकासँग आवश्यक छलफल र समन्वय गरेर मात्र थप प्रक्रिया अघि बढाउन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
गाउँपालिकाले आवश्यक विषय र शर्तहरुमा गम्भीर छलफल र समन्वय नगरी गरिने निर्माण कार्यबाट हुने क्षति, आइपर्ने समस्या र अप्ठ्याराप्रति स्वयं निर्माण कम्पनी तथा सरोकारवाला नै जिम्मेवार हुनुपर्ने पनि गाउँपालिकाले चेतावनी दिएको छ । यसअघि फक्ताङ्लुङ गाउँपालिकाले पनि एक महिना अघि नै अर्थात गत माघ २ गते विज्ञप्ति प्रकाशित गरी आफूहरुसँग कुनै समन्वय र सूचना नगरी परियोजना निर्माणको प्रक्रिया सुरु गरेकाले रोक्न आग्रह गरेको थियो ।
फक्ताङ्लुङ गाउँपालिकाले विज्ञप्ति प्रकाशित गर्दै पालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म थप प्रक्रिया अघि नबढाउन परियोजनालाई पत्राचार गरेको थियो । फक्ताङ्लुङले आवश्यक समन्वय र सूचना नगरी परियोजनाको प्रक्रिया सुरु गरिएकाले काम रोक्नका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रभावित क्षेत्रअन्तर्गत रहेको फुङ्लिङ नगरपालिकाले मात्र परियोजना सञ्चालन अनुमति दिनुका साथै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
यसैगरी केबलकार परियोजनाविरुद्ध मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार परियोजना खारेजी संघर्ष समिति सुरुदेखि नै सङ्घर्षरत रहेको छ । लिम्बू समुदाय तथा आदिवासीहरुको ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा (मुक्कुमलुङ) भएकाले केबलकार निर्माण गर्नु ऐतिहासिक मुन्धुमी धार्मिकस्थल तथा मौलिक पहिचानमाथिको अतिक्रमण र हस्तक्षेप भएकोभन्दै उक्त समूह संघर्षरत रहेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकाल नेतृत्व रहेको पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । परियोजनाका लागि प्रालिले कार्यान्वयनको चरणपूर्व गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ । परियोजना कार्यान्वयन हुने पाथीभरा क्षेत्र फुङ्लिङ नगरपालिकाको वडा १० र ११, सिरिजंघा गाउँपालिकाको वडा ३ र ६ तथा फक्ताङ्लुङ गाउँपालिकाको वडा ३ र ५ को संगम स्थल पर्दछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts