मिक्वाखोलाका सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन कार्य सुरु,पाठ्यपुस्तक बितरण गर्न थालियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका सामुदायिक बिद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने घोषणा कार्यान्वयन गर्न थालिएको छ ।

मिक्वाखोला गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै बिहीबारबाट पालिकाका वाल विकास केन्द्रहरुमा पढ्ने बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक र शैक्षिक सामग्री समेत बितरण गरिएको पालिकाले जनाएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तहाबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार पालिकाका २९ वटा सामुदायिक बिद्यालयका वाल विकासमा अध्ययरत ३ सय ६० जना बिद्यार्थीलाई अंग्रेजी माध्यम पाठ्यपुस्तक र शैक्षिक सामग्री अन्तरगत कापी बितरण गरिने छ ।

बिहीबार मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित साँवा माविका ११ जना बिद्यार्थीलाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक र कापी बितरण गरिएको पालिकाले जनाएको छ । पालिकाले आगामी शैक्षिक सत्रबाट कक्षा १ मा समेत अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने घोषणा गरेको छ । पालिकाले सुरु गरेको अभियानलाई साथ दिदैं मिक्वाखोला गाउँपालिका वडा नं ४ घर भई हाल बैदेशिक रोजागारीमा रहेका मिङ्माछिरिङ शेर्पाले पालिकासंगको सहकार्यमा बिद्यार्थीलाई शैक्षिक सामग्री अन्तरगत अंग्रेजी पाठ्यपुस्तक र कापी बितरण गर्नमा आर्थिक सहयोग गर्नु भएको छ ।

पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बितरण कार्यको सुरुवात गर्दै पालिका अध्यक्ष कार्कीले पालिकाको घोषणा तथा कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्दै पालिकाले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने कार्यको कार्यान्वयन गर्न थालेको जानकारी दिनुभयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतम,वडा नं ४ का वडा सदस्य फुपुतेञ्जिङ शेर्पा,पालिकाको शिक्षा शाखा प्रमुख पवन भट्टराई सहितको उपस्थिति रहेको थियो ।

 

Similar Posts