मानव अधिकार शिक्षा कार्यक्रम चलाउने दायित्व राज्यको हो: डाक्टर ढकाल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २९ । नेपाल मानव अधिकार संगठनका केन्द्रीय महासचिव प्राध्यापक डाक्टर गोबिन्दप्रसाद ढकालले मानव अधिकारको संरक्षणमा राज्य सबैभन्दा बढी सम्बेदनशिल हुनुपर्ने बताउनु भएको छ । उहाँले मानव अधिकार सम्वन्धी चेतनामुलक कार्यक्रम सञ्चालनको अगुवाई पनि राज्य आफैंले गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त तत्ववधानमा ताप्लेजुङको फुङलिङमा सोमवार सञ्चालित एकदिने मानव अधिकार शिक्षा तालिममा ढकालले उक्त कुरा बताउनु भएको हो । नागरिक शिक्षित भएमात्र राज्यमा सुशासनको अवस्था,शासन प्रक्रियामा नागरिकहरूको सहभागिता,कानुनी शासन,न्यायमा पहुँच तथा लैंगिकमैत्री वातावरण मजबुत हुने भएको मानव अधिकार शिक्षा अपरिहार्य रहेको उहाँको भनाई थियो ।  प्रत्येक व्यक्तिले आफ्नो अधिकारसंगै कर्तव्यवोध गर्न सकेको खण्डमा मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने समेत ढकालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले मानव अधिकारको संरक्षण र प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । मानव अधिकारप्रति आम नागरिकको सचेतनाले मात्र यसको सम्मान,संरक्षण,संवद्र्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने हाङगामको भनाई थियो । मानव अधिकार शिक्षा कार्यक्रमले मानव अधिकार संरक्षणका सवालहरुको उठान गरी अधिकारको संरक्षण र जर्गेनामा ध्यान दिने भएकोले मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्नु निकै महत्वको बिषय भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अथिति रहनु भएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नागरिकको जीउधनको सुरक्षामा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । प्रजिअ शर्माले सुशासनले भरिएको समाज निर्माणमा आफुहरु रत्तिभर पछि नहट्ने बताउनुभयो ।‘अधिकार र कर्तव्यका बारेमा प्रत्येक नागरिक सचेत हुने हो भने मानव अधिकारको संरक्षणका बिषय धेरैहदसम्म व्यवस्थित हुन्छ’प्रजिअ शर्माले भन्नुभयो । कार्यक्रममा मानव अधिकार शिक्षा समाजका अध्यक्ष शम्भुकुमार लामा,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठ सहित अधिकारकर्मी,सञ्चारकर्मी,सुरक्षाकर्मी सहितको उपस्थिति रहेको थियो ।

Similar Posts