प्रत्येक वडामा पुगेर सासुभत्ता बितरण गर्दै मेरिङदेन

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ६ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले बैशाख ८ गते सोमवारबाट प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवका अनुसार पालिकाको वडा नं ६ नाल्बुबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु हुने छ । पालिकाले बैशाख ९ गते मंगलवार वडा नं ५ थुकिमाको वडा कार्यालयमा,१० गते बुधवार वडा नं ४ लिङतेपको वडा कार्यालयमा,११ गते बिहीबार वडा नं १ थिङलाबुको वडा कार्यालयमा,१२ गते शुक्रबार वडा नं ३ खाम्लुङको वडा कार्यालयमा र १४ गते आइतवार वडा नं २ सान्थाक्रास्थित सूर्यदेवी मावि अवजुङ डाँडामा सामाजिक सुरक्षा भत्ता बितरण हुने छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार पालिकाको संयोजन र कुमारी बैंक लिमिटेड मेरिङदेन शाखामार्फत भत्ता बितरण हुन लागेको हो । लाभग्राहीले सामासजक सुरक्षा भत्ता लिन जाँदा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा भत्ता कार्य अनिवार्य रुपमा लिएर जानुपर्ने पालिकाले जनाएको छ ।
इच्छाएको व्यक्तिको हकमा लाभग्राही र इच्छाएको व्यक्ति दुबैजनाको नागरिकताको प्रमाणपत्र तथा दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र लिएर सम्वन्धित लाभग्राहीको बुवा वा आमामध्ये एकजना अनिवार्य सहभागी भएको हुनुपर्ने समेत पालिकाले जनाएको छ ।
सम्वन्धित वडामा पुगेको पालिका र बैंकको टोलीमार्फत सामाजिक सुरक्षा भत्ता लिन नसक्ने लाभग्राहीले वडातहको घुम्ति शिविर सकिएपछि मेरिङदेनस्थित कुमारी बैंक लिमिटेडको शाखा कार्यालयमार्फत कार्यालय समयमा भत्ता लिन सक्ने समेत पालिकाले जानकारी दिएको छ ।