पाथीभरा याङवरकले आगामी आवमा समावेश गर्ने योजना माग्यो,योजना बैंकमा समावेश भएकालाई मात्र बजेट !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आयोजना बैंकमा समावेश भएका योजनालाई मात्र आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गरी कार्यान्वयनमा लैजाने प्रणालीको विकास गरेको छ । त्यसका लागि पालिकाले वडा कार्यालय र सर्वसाधारण सरोकारवालालाई २०८२ साल बैशाख ५ गते भित्र योजना माग गरी पालिकाको सम्वन्धित शाखामा दर्ता गर्न समयसीमा दिएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार पालिकाबाट योजनाको पहिचान,छनौट र कार्यान्वयन गर्नका लागि सरोकारवालाबाट योजनाको माग गरी माग गरिएका योजनाहरुमध्येबाट प्राथकितामा आधारमा आगामी आर्थिक बर्षको बजेटबाट कार्यान्वयन हुनेगरी छनौट भएका योजनालाई पालिकाको योजना बैंकमा समावेश गरिने छ । योजना माग गर्दा वडा कार्यालयले पालिकाले दिएको ढाँचामा फाराम भरी पालिकाको सम्वन्धित शाखामा पेश गर्नुपर्ने हुन्छ भने सरोकारवालाले वडा कार्यालयको सिफारिस समेत संलग्न राखी पेश गर्नुपर्ने हुन्छ । योजना माग गर्दा विकास कार्यक्रम र योजना वर्गिकरण गरी क्षेत्रगत आधारमा गर्नुपर्ने समेत पालिकाले जनाएको छ ।

योजना तथा पूर्वाधार शाखामा सडक तथा पुल सम्वन्धी,भवन निर्माण सम्वन्धी,खानेपानी र सिचाँई सम्वन्धी तथा पर्यटन तथा संस्कृति सम्वन्धी योजना पेश गर्नुपर्ने हुन्छ । यस्तै प्रशासन शाखामा सुशासन र क्षमता विकास सम्वन्धी,शिक्षा शाखामा शिक्षा र खेलकुद विकास सम्वन्धी र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्वन्धी र लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी योजना तथा कार्यक्रम पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

सीप विकास,घरेलु तथा साना उद्योग सम्वन्धी कार्यक्रम लघु उद्यम विकास शाखामा,श्रम तथा रोजगार सम्वन्धी रोजगार शाखामा,सामाजिक सुरक्षा र पञ्जीकरण सम्वन्धी सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा र सहकारी सम्वन्धी योजना सहकारी शाखामा पेश गर्न पालिकाले भनेको छ । यस्तै कृषि विकाससंग सम्वन्धित योजना कृषि विकास शाखामा,पशुपंक्षिसंग सम्वन्धित योजना पशु सेवा शाखामा,स्वास्थ्य सम्वन्धी योजना स्वास्थ्य शाखामा,कानुनी क्षमता तथा विकास सम्वन्धी न्यायिक शाखामा र सञ्चार तथा सूचना प्रविधि सम्वन्धी योजना तथा कार्यक्रम सूचना प्रविधि शाखामा पेश गर्नुपर्ने हुन्छ ।

वन,वातावरण तथा जलवायु परिवर्तन सम्वन्धी,जलाधार व्यवस्थापन सम्वन्धी,बाढी,पहिरो नियन्त्रण सम्वन्धी र वायो ईञ्जिनियरिङ सम्वन्धी योजना वन,वातावरण तथा विपद् व्यवस्थापन शाखामा पेश गर्न गाउँपालिकाले सबैलाई आवह्वान गरेको छ । प्राप्त भएका योजना मागभित्रबाट सबैभन्दा अति आवश्यक योजनालाई कार्यपालिकाले प्राथमिकताका आधारमा छनौट गरी पालिकाले योजना बैंकमा समावेश गरी आगामी आवको बजेटबाट कार्यान्वयन हुनेगरी सम्वन्धित योजनामा बजेट बिनियोजन गर्ने पालिकाको तयारी छ ।

 

Similar Posts