कञ्चनजंघा हीरक महोत्सवको अवसरमा बैशाख ३ देखि लेलेपमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २७ । कञ्चनजंघा हीरक महोत्सवको अवसर पारेर आउँदो बैशाख ३ गते देखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । हीरक महोत्सव भने बैशाख ५ गते देखि ७ गते सम्म हुने छ ।

महोत्सवको मूल आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले बुधवार पत्रकार सम्मेलनमार्फत अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताबारे जानकारी दिएको हो । परिषद्का सदस्य तथा कञ्चनजंघा हीरक महोत्सव खेल समिति संयोजक सन्तोष लिम्बूका अनुसार भलिबल प्रतियोगितामा ताप्लेजुङका आठराई त्रिबेणी र मैवाखोला बाहेक ७ तथा पाँचथरको याङवरक गाउँपालिका सहित ८ टिमको सहभागिता रहने भएको छ । नकाउटका आधारमा खेल खेलाईने समेत लिम्बूले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेताले नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा उपबिजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बिधागततर्फ सर्बोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेण्डर,उत्कृष्ट सेटर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर र उत्कृष्ट क्विकरलाई जनही नगद ३ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिईने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख ९ हजार रुपैयाँको लागत अनुमान गरिएको समेत खेल संयोजक लिम्बूले जानकारी दिनुभयो ।

आयोजकले खेलमा सहभाग हुन आउने खेलाडीलाई दुरीका आधारमा यातायात,बास तथा खाना खर्च समेत उपलब्ध गराउने भएको छ । जस अनुसार पाँचथरको याङवरक गाउँपालिकाको टिमले यातायात,बास तथा खाना खर्चवापत ६० हजार रुपैयाँ पाउने छ । ताप्लेजुङका सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले समान ५०–५० हजार पाउने छन् । यस्तै पाथीभरा याङवरक,मेरिङदेन,मिक्वाखोला र फुङलिङ नगरपालिकाले समान ४०–४० हजार रुपैयाँ पाउँदा गृह टिम फक्ताङलुङ गाउँपालिकाको टिमले २० हजार रुपैयाँ यातायात,बास तथा खाना खर्च पाउने भएको छ ।

प्रतियोगिताले स्थानीय खेलाडीलाई शसक्त बनाउनुका साथै खेलकुदका माध्यमबाट कञ्चनजंघा संरक्षण क्षेत्र र यहाँ रहेको पर्यावरणीय महत्वलाई प्रवद्र्धन गर्ने आयोजकले अपेक्षा लिएको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बू,संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बू,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तरगत समृद्ध पहाड परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसु लिम्बू,संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व सदस्य जीवनकुमार हेल्लोक,परिषद्का रेञ्जर हिमाल पाठक र कर्मचारी सुजन राई समेतको उपस्थिति रहेको थियो ।

 

Similar Posts