नो केबलकार पक्षद्वारा खगेन्द्र फेम्बो संयोजक रहेको उच्चस्तरीय वार्ता समिति गठन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले अर्को वार्ता समिति गठन गरेको छ । नो केबलकार पक्षले सरकारसँग उच्चस्तरीय वार्ता गर्न खगेन्द्र फेम्बो संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै नो केबलकार पक्षले सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण टोलीबिच गएको सोमबार भएको सहमतिअनुसार अर्को वार्ता टोली गठन गरेको उल्लेख गरिएको छ । केबलकार विवादका विषयमा समाधान खोज्न उच्चस्तरीय वार्ता गर्ने सहमति भएको र सो अनुसार नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अर्को वार्ता टोली गठन गरेको जनाएको छ ।
केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक रहेका फेम्बो संयोजक बन्नुभएको वार्ता समिति सदस्यमा श्रीप्रसाद लिङ्खिम, सरस्वता सिंघक (सरु), धनराज लिम्बू र सन्तोष मेहता रहनुभएको छ । संयोजक फेम्बो, लिङ्खिम र सिंघक मुक्कुमलुङ ताङ्सेःप चुम्भोतर्फ तथा लिम्बू र मेहता अन्तरदलको प्रतिनिधित्व हुने गरी वार्ता समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि बढेदेखि नै विरोध र आन्दोलन सुरु भएको हो । नो केबलकार पक्षले केबलकार खारेज गर्नुपर्ने, केबलकार निर्माणस्थल पाथीभराको काफ्लेपाटीमा स्थापना गरिएको सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनलाई निरन्तरता दिएको छ ।
केबलकार निर्माणकै विषयमा विवाद बढ्दै जाँदा यसअघि नो केबलकार पक्ष र प्रहरीबिच पटक–पटक झडपसमेत भइसकेको छ । नो केबलकार पक्षले यातायात बन्दसहितका आन्दोलनका गतिविधिहरु गरिरहेको छ । पाथीभरा क्षेत्रमा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न सुरु गरेको हो ।
हालसम्म सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता समिति र नो केबलकार पक्षबिच विभिन्न चरणमा वार्तासमेत भएको छ । यद्यपि, पटक–पटकको वार्ताले सार्थक निस्कर्ष भने निकाल्न सकेको छैन ।