फुनपाको पर्यटन विकास समितिद्धारा पर्यटन विकासका सम्भावना र चुनौति बिषयक अन्तरकृया सम्पन्न

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पर्यटन विकासका सम्भावना र चुनौति बारे एक दिवसीय अन्तरकृया कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

फुङलिङ नगरपालिकाद्धारा गठित पर्यटन विकास समितिले सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा फुङलिङ नगर पर्यटन विकास समितिका अध्यक्ष हर्कराज गुरुङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गरेको कार्यपत्र माथि सरोकारवाला संस्थाका प्रतिनिधिले राय सुझाव राख्नु भएको थियो । ६ पृष्ठ लामो कार्यपत्रमा गुरुङले विश्व,नेपाल र ताप्लेजुङको पर्यटन परिचय,पर्यटनका क्षेत्र,पर्यटनका महत्व,पर्यटनका अंग,पर्यटन र पर्यटकको बर्गिकरण समेट्नु भएको छ । दुई खण्डका बिभाजित उहाँको कार्यपत्रमा फुङलिङ नगर क्षेत्रको पर्यटन,विकास,सम्भावना र चुनौति औंल्याईएको छ । नगर क्षेत्रका प्रमुख पर्यटकिय स्थल,पूर्ण रुपले पहिचानमा आउन नसकेका पर्यटकिय स्थल र पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारका बिषय समेत उल्लेख गरिएको छ ।

पर्यटन व्यवसाय क्षेत्रमा संलग्नता बारे गुरुङले ट्रेकिङ गाईड देखि पर्वतारोही,पर्यटन संस्था,आकर्षणका कर्टेज तथा रिर्सोट,ट्राभल एजेन्सी र पर्यटकिय तथा स्थानीय उत्पादन बिक्री केन्द्रको उपलब्धता खुलाउनु भएको छ । उहाँले नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना निर्माण तथा तथ्याङ्क संकलन,पर्यटन अभिमुखीकरण,पर्यटन सूचना केन्द्र,फोटो ग्यालरी,सौगात गृह स्थापना,पर्यटनमैत्री नीति नियम र त्यसको उचित कार्यान्वयन,आयमुलक तथा खोजमुलक अनुसन्धान सहितका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ । नगर क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुलाई श्रब्यदृश्य सुटिङ हबको रुपमा समेत अघि सार्न सकिने उहाँको तर्क छ ।

पर्यटन सचेतनाको कमी,पर्यटकिय स्थलहरुमा पूर्वाधारको निर्माण,पर्यटन लोकेसन बोर्ड तथा पर्यटन सूचनाको प्रवाहमा कमी सहितका बिषय समस्या र चुनौतिको रुपमा रहेको गुरुङको कार्यपत्रमा उल्लेख छ । लगानीमैत्री वातावरण निर्माण गरी पर्यटन पूर्वाधारको विकास र बिस्तार गर्नुपर्ने बिषय समेत कार्यपत्रमा आएको छ । २०८१ साल भदौ २५ गते बसेको फुङलिङ नगरपालिकाको ४६ औं कार्यपालिका बैठकले नगर पर्यटन विकास समिति गठन गरेको थियो । नगर पर्यटन विकास समितिले पर्यटन विज्ञ डा.आलोक प्रसाँईलाई प्रमुख सल्लाहकारको रुपमा मनोनयन समेत गरिरसकेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर क्षेत्रको पर्यटन क्षेत्रमा सरोकार राख्ने संस्था तथा व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Similar Posts