सेभ द चिल्ड्रेनको मिथ्यांकः २३ करोड घोटाला आशंका

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १० । सेभ द चिल्ड्रेनले ग्लोबल फन्डलाई एचआइभी संक्रमितको फर्जी डाटा देखाएर वर्षको २३ करोड रूपैयाँ लिएको सरकारी अधिकारीहरूको आशंका छ  । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा समावेश भएको डाटा र सेभ द चिल्ड्रेनले दातृ निकाय ग्लोबल फन्डलाई दिएको डाटामा एचआइभी संक्रमितको संख्या १ हजार ८ सय ८८ ले फरक रहेको पाइएको छ  । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सेभ द चिल्ड्रेनमार्फत ग्लोबल फन्डलाई दिएको डाटामा आर्थिक वर्ष ०७५।७६ मा १७ हजार ९ सय ८७ जना एचआइभी संक्रमितले औषधि उपचार सेवा लिएको देखाइएको छ  । तर सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा भने १६ हजार ९९ एचआइभी संक्रमित रहेको उल्लेख छ  । यो तथ्यांक सरकारले देशभरका करिब ८ हजार स्वास्थ्य संस्थाबाट संकलन गरेको हो  । स्वास्थ्य मन्त्रालयका अनुसार एकजना एचआइभी संक्रमितको औषधि उपचारका लागि वर्षमा १ लाख २५ हजारभन्दा बढी रूपैयाँ खर्च हुने गरेको छ  । यसअनुसार १ हजार ८ सय ८८ जना बढी देखाएर ग्लोबल फन्डबाट सेभ द चिल्ड्रेनले आर्थिक वर्ष ०७५।७६ मा मात्र २३ करोड ६० लाख रूपैयाँ बढी लिएको सरकारी अधिकारीहरूको आरोप छ  । सेभ द चिल्ड्रेनमार्फत पठाएको डाटाका आधारमा संक्रमितको उपचारबापत लागेको खर्च ग्लोबल फन्डले दिँदै आएको छ  । नेपालमा एचाइभी संक्रमितको औषधि उपचारका लागि वर्षिक २ अर्ब रकम खर्च हुने गरेको छ । सेभ द चिल्ड्रेनले नेपालमा एचआइभी, मलेरिया, टिबीजस्ता सरुवा रोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको छ  । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटा सरकारको तथ्यांकभन्दा सेभ द चिल्ड्रेनको तथ्यांक बढी हुन नसक्ने स्पष्ट पार्नुभयो । ‘संक्रमतिको संख्या फरक हुुनु गलत हो’, उहाँले भन्नुभयो । आफूले हालै केन्द्रको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले तथ्यांकमा देखिएको भिन्नताबारे सेभ द चिल्ड्रेनका कर्मचारीसँग बुझ्ने बताउनुभयो । ‘के भएको हो, छानबिन हुन्छ’, उहाँले भन्नुभयो । (स्रोत ः नागरिक दैनिकको अनलाईनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts