अभिभावबाट प्राप्त सुझावलाई एकीकृत गरेर शिक्षा सुधारको बृहत्त कार्ययोजना बनाउँदै मैवाखोला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ११ । सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक जागरण अभियान सम्पन्न गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक वडाका अभिभावकबाट प्राप्त रायलाई एकीकृत गरी शिक्षा सुधारको कार्ययोजना बनाउने भएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार शिक्षा सुधारका लागि अभिभावकबाट प्राप्त बुँदागत सुझावलाई पालिकाको शिक्षा शाखामार्फत अभिलेखीकरण गर्न सुरु गरिएको छ । प्राप्त सुझावलाई समेटेर तयार हुने एकीकृत प्रतिबेदनका आधारमा गाउँ शिक्षा समितिले शैक्षिक सुधारको कार्ययोजना बनाउने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले विज्ञको रुपमा सहजीकरण गरेको जागरण अभियानको क्रममा शिक्षा सुधारमा अभिभावकको भूमिका र जिम्मेवारी बारे पनि अवगत गराईएको गाउँपालिकाले जनाएको छ ।
‘सार्वजनिक शिक्षामा सुधार नआएसम्म पालिकाको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन नआउने देखेर हामीले अभियान चलाएका हौं’पालिका अध्यक्ष वनेमले भन्नुभयो‘यसले शिक्षाका सबै सरोकारवालाको आगामी भूमिका समेत दर्शाएको छ’ । उहाँले शैक्षिक जागरणका लागि अहिले सम्म भएका प्रयासहरुबाट प्राप्त पृष्ठपोषण र सुझावहरु एकीकृत गरी पालिकाले शैक्षिक सुधारको बृहत्तर कार्ययोजना अघि सार्ने समेत जानकारी दिनुभयो ।
सार्वजनिक शिक्षा सुधारको पहिलो प्रयास स्वरुप मैवाखोला गाउँपालिकाले गत जेठ महिनाको दोस्रो साता दुईदिने बृहत्त शैक्षिक सम्मेलन गरेको थियो । शैक्षिक सम्मेलनमार्फत बिद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक,शिक्षक र अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाका बारे श्वेतपत्र जारी भएका थिए । पालिकाले शिक्षा सुधारका लागि गर्नुपर्ने नीतिगत प्रवन्धको जिम्मेवारी सहितको संकल्पपत्र समेत जारी गरेको थियो ।
पालिकाका ६ वटै वडाका अभिभावकहरुसंग शिक्षा सुधारका उपाय,विकल्प र जिम्मेवारीबारे वृहत्त छलफल भएको र प्राप्त सुझावलाई एकीकृत गरी कार्ययोजना बनाउने अभियानमा अग्रसर हुने पालिकाका शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देन बताउँनुहुन्छ । सार्वजनिक शिक्षाका लागि अभिभावक जागरण अभियान शिक्षाका सरोकारवालाको मागका आधारमा गाउँपालिकाले अघि बढाएको पालिकाले जनाएको छ ।
सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाको राय तथा सुझावका आधारमा पालिकाले शैक्षिक योजना बनाउने र कार्यान्वयन गर्ने नीति लिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु थापा पालिकामा अहिले सम्म शिक्षा सुधारका लागि भएका अभियानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै शैक्षिक विकासको उन्नत नतिजाका लागि उच्च तहको कार्ययोजना तयार हुनेमा विश्वस्त हुनुहुन्छ ।
अघिल्लो बर्ष कक्षा ८ को पालिका स्तरीय बार्षिक परीक्षाको नतिजाले झस्काएको मैवाखोलाले सार्वजनिक शिक्षा सुधार नगरी थप शैक्षिक प्रगति नहुने ठम्याएको छ । उतिबेला कक्षा ८ को बार्षिक परीक्षामा पालिकाभरीमा ५ जना मात्र उर्तीण भएपछि मैवाखोलाले ननग्रेड बिद्यार्थीले कक्षा ८ को पढाई दोहो¥याउने निर्णय लिएको थियो । दुई बिषयमा अनुर्तीण भएका बिद्यार्थीले ग्रेडबृद्धि परीक्षा लेख्न पाएका थिए भने अरुले भने कक्षा ८ को पढाईनै दोहो¥याएका थिए ।
पालिका अध्यक्ष वनेमले यो कार्यमा पालिकाले जोखिमनै मोलेको बताउँदै सार्वजनिक शिक्षा सुधार नगरी नहुने देखेर त्यसपछि शिक्षा सुधारको अभियान अघि बढेको बताउँनुहुन्छ ।‘सुखद् नतिजाकै लागि रिस्क मोल्न पनि तयार भएका हौं’सार्वजनिक शिक्षा सुधारको अभियानलाई गति दिएको बताउँदै वनेमले भन्नुभयो‘अब शिक्षामा परिवर्तन आउँछ,सुखद् परिणाम ल्याएरै छाड्छौं’। उहाँले सार्वजनिक शिक्षा सुधार पालिकाको जिम्मेवारी र अधिकार भएकोले पालिकाको अग्रसरता बढेको बताउनुभयो । नेपालको संबिधानमा माध्यमिकसम्मको शिक्षाको अधिकार,दायित्व र जिम्मेवारी स्थानीय सरकारको हुनेगरी एकल अधिकार समेत प्रदान गरिएको छ ।