मध्य मेवाको अडिट–१ देखि हेडवर्क्स सम्मको १७ सय मिटर सुरुङमार्गमा‘ब्रेक थ्रु’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ८ । ताप्लेजुङमा निर्माणाधिन ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजनाको अडिट–१ देखि हेडवर्क्स सम्मको १७ सय मिटर लम्बाईको सुरुङमार्गमा ‘ब्रेक थ्रु’भएको छ ।
यो संगै आयोजनाको करिव ७५ प्रतिशत काम पूरा भएको मध्य मेवा जलविद्युत आयोजनाका बरिष्ठ व्यवस्थापक सुनील रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी बर्ष आयोजनाको निर्माण कार्य पूरा गर्नेगरी काम अघि बढाईएको छ । मेवा डेभलर्पस लिमिटेडले उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको हो । यसको विद्युतगृह पनि भूमिगत रहने छ । मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा पर्छन् । आयोजनाको ग्रसहेट ४७१.४७ मिटर र डिजाइन डिस्चार्ज १८.६७ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाका लागि हेडरेस टनेल करिव ५ हजार ३ सय १४ मिटरको हुने छ । तेर्सो र ठाडो गरी करिव ३ सय ९३ मिटर पेनस्टोक पाइप राखिने भएको छ ।
करिव १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मध्य मेवा जलविद्युत आयोजना अर्ध जलाशययुक्त आयोजनाको रुपमा रहने छ । हेडवर्क्स साँवाको तेम्बामा र विद्युतगृह लप्सिबोटे मुनि रहेको छ । आयोजनाबाट उत्पादित विद्युत १०.७ किलोमिटर १३२ केभी डवल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ढुङगेसाँघु सवस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना रहेको छ । त्यसका लागि विद्युतगृह देखि प्रसारण लाइन सम्मको दुरीमा करिव ३६ वटा टावर निर्माण गरिने भएको छ । जमिनको सहतबाट टावरको उचाई न्यूनतम् ३०.२६ मिटर तथा अधिकतम् ३९.२६ मिटर हुने छ । आयोजनाको बार्षिक क्षमता ४३६.०९ गिगावाट आवर रहेको छ । पिक इनर्जी ७५.०२ गिगावाट आवर र ननपिक इनर्जी ६१.५९ गिगावाट आवर रहेको छ ।