खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई,कुम्मायक गाउँपालिकाको टिम बन्यो उपविजेता
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका गाउँपालिका वडा नं ७ खेवाङमा सम्पन्न खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । फाइनलमा पाँचथरको कुम्मायक गाउँपालिका यासोकको टिमलाई गोल ४–१ को फराकिलो अन्तरले पराजित गर्दै पेदाङले उपाधि हात पारेको हो ।
विजेता टोली पेदाङले खेलको १९ औ मिनेटबाट अग्रता लिएको थियो । पेदाङका लागि निरोज लिङदेनले पहिलो गोल गर्नुभयो । ३२ औ मिनेटमा शेखर राईले गोल गर्दै टिमको अग्रता दोब्बर पार्नुभयो । रोशन आङदेम्बेले खेलको ५१ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाउँदा कुम्मायकको लागि दिप्सन लावतीले सान्त्वना गोल फर्काउनुभयो । खेलको आखिरी समयमा पेदाङका लागि रोशनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्नुभयो । यो संगै पेदाङले पाहुना टोलीमाथि सहज जीत निकाल्यो । बिजेता पेदाङ स्पोर्टिङ क्लवले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहितट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो । उपविजेता कुम्मायकले १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजक खेवाङ स्पोर्टिङ क्लवका क्लवका अध्यक्ष बिनम मावोले जानकारी दिनुभयो ।
तीन पाहुना टोली सहित आठ टिम सहभागी खेल कात्तिक १० गतेबाट सुरु भएको थियो । विजेता र उपविजेता टिम तथा खेलाडीलाई कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले नगद,ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गर्नु भएको छ । यो प्रतियोगिता खेवाङ गोल्डकपको सातौं संस्करण हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नु भएको थियो । खेवाङ स्पोर्टिङ क्लवले बिभिन्न दाता तथा सहयोगी महानुभावहरुको सहयोगमा ७ जना खेलाडीले खेल्न मिल्ने आफ्नै फुटबल खेल मैदान समेत निर्माण गरेको छ । प्रतिनिधिसभाका सांसद भट्टराईले प्रदान गर्न मिल्ने सांसद विकास कोषबाट खेल मैदानका लागि २० लाख रुपैयाँ दिनु भएको थियो । सिरिजङ्गा गाउँपालिका र अन्य दाता महानुभावहरुले समेत सो खेल मैदानमा आर्थिक साझेदारी गरेका छन् ।