देशभित्रै कसरी रोजगारी सृजना गर्ने भन्ने बिषय अहिलेको मुख्य चुनौति: भट्टराई
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले देशभित्रै कसरी रोजगारी सृजना गर्ने भन्ने बिषय अहिलेको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । उहाँले घरेलु तथा साना उद्योगमार्फत उक्त चुनौति सामना गर्न सकिने पनि बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले नेपालीहरुका चाडपर्वहरुमा अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । भट्टराईले बैदेशिक पलायन हुने नेपाली श्रम शक्तिलाई देशभित्रै रोजगारी सृजना गर्ने प्रकृयामा घरेलु तथा साना उद्योग मुख्य आधार बन्न सक्ने समेत बताउनुभयो । घरेलु तथा साना उद्योग स्थानीय संस्कृतिसंग समेत जोडिएकाले सांस्कृतिक उत्थानमा समेत सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । घरेलु तथा साना उद्योगमार्फत सृजना हुने रोजगारीले नेपालीहरुमा कायम रहेको परनिर्भरता समेत हट्ने भएकोले उद्यम प्रवद्र्धनमा ध्यान दिनुपर्ने समेत भट्टराईले बताउनुभयो । घरेलु तथा साना उद्योगले संस्कृति समेतको आदान–प्रदान गर्ने भन्दै घरेलु तथा साना उद्यमीहरुलाई भट्टराईले व्यवसायीमुखी हुनेगरी काम गर्न सल्लाह समेत दिनु भएको छ । त्यसका लागि सरकारकातर्फबाट समेत सक्दो सहयोग हुने कुरामा भट्टराईले विश्वास लिनुभयो ।
सोहि कार्यक्रममार्फत घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमा २ बर्ष ८ महिना निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पूरा गरी इलाममा सरुवा हुनु भएका युवराज घोर्साईलाई सम्मान सहित बिदाइ गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङवो,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,फुङलिङ नगरपालिकाको सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवार लगायतले घरेलु तथा साना उद्यमीमार्फत हुने र भइरहेका आर्थिक विकासका सवालहरुमा बोल्नु भएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले उद्यमीहरुबिच भातृत्व र आत्मियताका लागि शुभकामना आदान–प्रदान र लामो समय उद्यमीसंग सहकार्य गर्नु भएका व्यत्तित्व घोर्साईको सम्मानका लागि कार्यक्रम आयोजना भएको बताउनुभयो ।