फुङलिङ,दोभान र थेचम्बुका केन्द्रमार्फत सुनौलो नेपाल परिवारले ताप्लेजुङमा मेरी स्टोप्स सेवा प्रदान गर्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवा सहित किशोर किशोरीमा यौन प्रजनन् स्वास्थ्य सम्वन्धी काम गरिरहेको सुनौलो नेपाल परिवारले ताप्लेजुङका तीनवटा केन्द्रमार्फत नियमित सेवा प्रवाह गरिरहेको जनाएको छ ।

सुनौलो नेपाल परिवार अन्र्तगत ताप्लेजुङमा कार्यरत एमएस लेडिज देवन्ती प्रधानका अनुसार ताप्लेजुङको फुङलिङस्थित पराजुली चौक,मेरिङदेन गाउँपालिकाको वडा नं ३ खाम्लुङस्थित दोभान बजार र पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुबाट सेवा प्रवाह भइरहेको हो । प्रधानका अनुसार उल्लेखित तीन केन्द्रमार्फत २०८० साल माघ १ गतेबाट ताप्लेजुङमा सुनौलो नेपाल परिवार सेवा अर्थात् मेरी स्टोप्स सेवा सञ्चालन भइरहेको छ । उहाँका अनुसार सेवा प्रारम्भ भएदेखि ९ वटा शीर्षकमा मेरी स्टोप्स सेवा प्रदान भइरहेको छ । प्रधानका अनुसार छोटै अवधिमा सेवा लिनेको संख्या आस लाग्दो देखिएको छ । सेवा बाहेक परार्मश लिनेहरु थुप्रै रहेको प्रधानले जानकारी दिनुभयो ।

गत आवको ५ महिनाको अवधिमा ताप्लेजुङमा १ सय ९८ जनाले इम्प्लान्ट सेवा लिएका छन् । इम्प्लान्ट महिनावारीको पहिलो सातदिनभित्र महिलाको पाखुराको छालाभित्र घुसाएर राख्ने गर्भनिरोधक परिवार नियोजनको साधन हो । यो साधन गर्भधारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो मानिन्छ । ४ जनाले आई.यु.सि.डी सेवा लिएका छन् । आई.यु.सि.डी महिलाले प्रयोग गर्ने लामो अवधिको अस्थायी साधन हो । एकपटक राखेपछि यसले १२ बर्ष सम्म गर्भरहन दिदैन । यस्तै डिपो ५ जनाले र पिल्स सेवा १३ जनाले लिएका छन् । तीन महिने (डिपो) सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो । यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउनुपर्छ । डिपो एकपटक लगाएपछि ३ महिनासम्म गर्भ रहँदैन । पिल्स गर्भनिरोधक चक्की हो ।

प्रधानका अनुसार मेरी स्टोप्स सेवामार्फत १ सय १९ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । ३३ जनाले यौनजन्य रोगको परीक्षण गराएका छन् भने ३ जनाले रिङ पेशरी सेवा लिएका छन् । मेरी स्टोप्स सेवामार्फत १० हप्ता सम्मको गर्भलाई औषधिको प्रयोग गरेर गरिने सुरक्षित गर्भपतन सेवा समेत उपलब्ध रहेको प्रधानले जानकारी दिनुभयो । ताप्लेजुङका सबै स्थानीय तहका नागरिकलाई लक्षित गरी मेरी स्टोप्स सेवा प्रदान भइरहेपनि सेवा प्रारम्भ भएको आर्थिक बर्ष २०८०।८१ को अवधिमा सिरिजङ्गा गाउँपालिकाका सेवाग्राही भने सेवा सम्पर्कमा नआएको उनले जानकारी दिईन् । सुनौलो नेपाल परिवारले परिवार नियोजन र सुरक्षित गर्भपतनका बारे जानकारी र सेवाहरुका लागि ११४३ निःशुल्क हेल्पलाइन समेत सञ्चालन गरिरहेको जनाएको छ । परामर्श आवश्यक हुनेहरुले ११४३ मा कल गरेर निःशुल्क रुपमा मेरी स्टोपका साथी सल्लाहकारहरूसँग कुरा गर्न सकिने प्रवन्ध रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts