चौथो ताप्लेजुङ गोल्डकपको फाइनल खेल शुक्रवार : फाइनल पुगेका दुबै टीमले गरे जीतको दावी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । चौथो ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका दुबै टिमले आ–आफ्नो जीतको दावी गरेका छन् । सिराहाको सलहेस युवा क्लव र पाँचथरको फिदिम स्पोर्टिङ क्लव शुक्रवार फुङलिङस्थित भानुजन माविको मैदानमा उपाधि भीडन्त गर्दैछन् ।
फाइनल खेलको पूर्व सन्ध्यामा बिहीबार बिहान आयोजक लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत दुबै टोलीले आ–आफ्नो जीतको दावी गरेका हुन् । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि जितेको सलहेस युवा क्लवका प्रशिक्षक राजीव यादवले आफ्नो टीमले जीत हाँसिल गर्ने दावी गरे । ‘२–० वा २–१ को अवस्थामा हामी पाँचथरबिरुद्ध जीत निकाल्ने छौं’यादवले अनुमान लगाउँदै भन्नुभयो । फिदिम स्पोर्टिङ क्लवका प्रशिक्षक उपेन्द्र श्रेष्ठले सहलेस बिरुद्ध कम्तिमा १–० को नतिजा सहित उपाधि आफुहरुको हातमा आउने दावी गर्नुभयो । सलहेस ताप्लेजुङ गोल्डकपको सहभागिता देखि लगातार फाइनलमा पुग्दै आएको टोली हो । तेस्रो संस्करणको उपाधि बिजेता सलहेस दोस्रो संस्करणमा भने उपबिजेता भएको थियो । यसपटक सलहेसले आफ्नो तेस्रो उपस्थितिमा तेस्रोनै फाइनल खेल खेल्दै छ । फिदिम स्पोर्टिङ क्लव भने ताप्लेजुङ गोल्डकप सुरु भएयता पहिलोपटक फाइनल पुगेको हो । प्रशिक्षक श्रेष्ठले ताप्लेजुङ गोल्डकप सुरु हुनुभन्दा अघिका खेलहरुमा भने फिदिम थुप्रैपटक फाइनलमा पुगेको बताउनुभयो । त्यतिबेला उहाँ खेलाडीको रुपमा मैदानमा हुनुहुन्थ्यो ।
सलहेस र फिदिम दुबै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको अनुभव भएका खेलाडीहरुले भरिएको टीमलाई पाखा लगाउँदै फाइनल पुगेका हुन् । क्वाटर फाइनलमा चित्लाङ फुटबल क्लवलाई टाईब्रेकरमा पराजित गर्दै सेमीफाइनल पुगेको फिदिम स्पोर्टिङ क्लवले सेमीफाइनलमा झापा–११ लाई १–० ले हराएर फाइनल पुगेको हो । आयुष घलान,देवेन्द्र तामाङ,सुमित श्रेष्ठ,आरोन थापाजस्ता भरपर्दा खेलाडीले भरिएको झापा–११ लाई हराएको फिदिमले सलहेसलाई रोकेर यसपटक उपाधि उचाल्ने दावी गरेको छ । क्वाटर फाइनलमा सातदोबाटो फुटबल क्लवलाई टाईब्रेकरमा हराएर सेमीफाइनल पुगेको सलहेस भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवलाई २–० ले हराएर फाइनल पुगेको टोली हो । पाँचथर स्पोर्टिङ क्लवले आफ्ना सबै खेलाडी स्थानीय भएको बताएको छ । सहलेसमा दुई बिदेशी खेलाडी रहेकोमा एकजना सामान्य घाइते पछि फर्कियो प्रशिक्षक यादवले जानकारी दिनुभयो । क्वाटर फाइनल र सेमीफाइनलका दुबै खेलहरुमा उत्कृष्ट टिमबिरुद्ध जीत हात पारेको भन्दै फिदिमले खेलाडी अहिलेकै टीमलाई फाइनलमा उतार्ने बताएको छ । सलहेसले पनि क्वाटर र सेमीफाइनल खेलेकै टीमका सदस्यलाई फाइनल खेलमा कायम राख्ने दावी गरेको छ ।
आयोजकले बिहीबार ताप्लेजुङ गोल्डकपमा फाइनल पुगेका फिदिम र सहलेसका प्रशिक्षक र कप्तानलाईसंगै राखेर पत्रकारसम्मेलन आयोजना गरेको थियो । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले दुई उत्कृष्ट टोली फाइनलमा पुगेकोले शुक्रवारको फाइनल खेल रोमाञ्चक र अतिप्रतिश्पर्धात्मक हुने दावी गर्नु भएको छ् । सलहेसका प्रशिक्षक यादवले आयोजकले गरेको व्यवस्थापन र सहयोगप्रति गोल्डकपमा सहभागी सबै टोलीले खुलेर प्रशंसा गर्ने प्रकृतिको रहेको भन्दै आयोजकको तारिफ समेत गर्नु भएको छ । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपबिजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एकथान मोटरसाइकल पाउनेछन् भने बिधागततर्फ उत्कृष्ट हुनेलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो