नेपाली काँग्रेस ताप्लेजुङको अगुवाईमा फुङलिङमा विपि कोइरालाको सालिक बन्ने,शिलान्यास गरियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । नेपाली काँग्रेस ताप्लेजुङको अगुवाईमा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण हुने भएको छ ।

कोईरालाको १ सय ११ औं जन्मजयन्तीका दिन सोमवार काँग्रेस ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ३ मा रहेको जिपि कोइराला स्मृति भवन परिसरमा कोइरालाको सालिक निर्माण कार्यको शिलान्यास गरेको हो । अगुवा नेताहरुको उपस्थितिमा नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले सालिका निर्माण कार्यको सुरुवात गर्नु भएको छ । तुम्याहाङका अनुसार ताप्लेजुङ जिल्लामा हालसम्म नेपाली काँग्रेस सम्वद्ध आदर्श पुरुषको सालिक बनेको थिएन । ‘यो रेकर्ड तोड्दै अब विपि कोइरालाको सालिक निर्माण हुनेछ’ जिल्ला सभापति तुम्याहाङले भन्नुभयो ।

विक्रम सम्वत् १९७१ साल भदौ २४ गते जन्मिनु भएका कोईराला प्रथम जननिर्वाचित र नेपालका २२ औं प्रधानमन्त्री हुनुहुन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएका उहाँलाई ‘महामानव’पनि भनिन्छ । कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

यता कोइरालाको १ सय ११ औं जन्मजयन्तीको अवसर पारेर नेपाल बिद्यार्थी संघ पाथीभरा बहुमुखी क्याम्पस इकाई समितिले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘शिक्षामा विपिको दृष्टिकोण’ बिषयक खुल्ला बक्तृत्वकला प्रतियोगितामा अनिश पौडेल प्रथम,स्वर्णीम पुर्कुटी द्धितीय र मिङ्वासो लिम्बू तृतीय हुनुभएको नेपाली काँग्रेस केन्द्रीय प्रचार समिति सदस्य शिला इजमले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts