आउँदो असोज ५ गते ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन हुने,कूल २६ लाख रुपैयाँ खर्चको प्रस्ताव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । आउँदो असोज ५ गते ताप्लेजुङमा हुने अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा कूल २६ लाख रुपैयाँ खर्च हुनेगरी प्रस्तावित कार्यक्रम अघि सारिएको छ ।

हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायसंग मिलेर गर्न लागेको म्याराथनका बेला रेडपाण्डाको प्रतिमा(स्ट्याचु)समेत स्थापना हुने छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र फुङलिङ नगरप्रमुख अमिर मादेनको उपस्थितिमा सोमवार मञ्चले पत्रकार सम्मेलनको आयाजना गरी रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताका बारेमा जानकारी गराएको हो । हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूका अनुसार प्रतियोगिताका लागि फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तय भएको छ । उहाँका अनुसार यसबर्ष महिला हाफ म्याराथन नभई पुरुष र महिला म्याराथन हुने छ । पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ ।

म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका बिजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिईने छ भने सर्बोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशःजनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै ताप्लेजुङ,पाँचथर र इलामका सहभागीमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले जनही क्रमशः१५,१० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । उल्लेखित तीन जिल्ला रेडपाण्डा पाइने जिल्लाको रुपमा परिचित छन् भने त्यहाँ रेडपाण्डा नेटवर्क सहितका निकायहरुमार्फत रेडपाण्डा संरक्षण अभियान समेत सञ्चालनमा छन् । विश्व समुदायमा रेडपाण्डाको संरक्षण अभियानको सन्देश दिन सम्भवत पहिलो पटक रेडपाण्डा म्याराथन आयोजना हुन लागेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । असोज ५ गते अर्थात् सेक्टेम्बर २१ तारेखका दिन विश्व रेडपाण्डा दिवस मनाइन्छ । सोहि दिन म्याराथन गर्न लागिएको हो ।

यसैबीच म्याराथनका सहभागीले नाम दर्ता शुल्क वापत तिर्नुपर्ने शुल्क महंगो भएको भन्दै दर्ता शुल्क बारे पुर्नविचार गर्न माग आएको छ । पत्रकार सम्मेलनमै दर्ता शुल्क महंगो भएको बिषयले प्रवेश पाएको हो । हिमाली संरक्षण मञ्चले रेडपाण्डा म्याराथनमा सहभागी हुने बिदेशी धावकका लागि जनही १ सय अमेरिकी डलर दर्ता शुल्क तोकेको छ । नेपाली धावकका लागि तीन हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने ताप्लेजुङ,पाँचथर र इलाम जिल्लाका लागि जनही १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts