|

संसद्को विवादित लोगो फिर्ता, सुनको खर्च कसले बेहोर्ने भन्‍नेमा विवाद

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ३ । संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको हो । लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएको थियो । ती लोगोप्रति सांसदहरूले नै आपत्ति जनाएपछि निर्माणकर्ता वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता दिइएको हो । मंगलबार साँझसम्म १ सय ९० लोगो फिर्ता गरिएको र बाँकी लोगोहरू पनि फिर्ता गर्ने चरणमा रहेको संसद् सचिवालयले जनाएको छ । सांसदहरूलाई बुझाइएका लोगोहरू फिर्ता मागेर निर्माणकर्तालाई दिन लागिएको हो । सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, सचिवहरू र अन्य अधिकारीले लोगो निर्माणको जिम्मा पाएको ललितपुरमा कार्यालय रहेको घरेलु तथा साना उद्योग कार्यालयलका अधिकारीसँग छलफल गर्नु भएको थियो । सिंहदरबारस्थित संसद सचिवालयमा मंगलबार भएको छलफलमा लोगो फिर्ता गरेर नयाँ बनाउने भन्नेमा सहमति भएपनि लोगोमा प्रयोग भएको सुनको खर्च कसले बेहोर्ने भन्नेमा विवाद देखिएको थियो । प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । लोगोमा ८७ ग्राम सुन प्रयोग भएको र त्यसको खर्च ’६ लाख ८२ हजार रुपैयाँ’ संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिनुभयो । सुन सरकारी निकाय टक्सार विभागबाट खरिद गरिएको थियो । १ तोला चाँदीको बेस राखिएको लोगोको खर्च प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ लागेको संसद्का महासचिव गौतमले जानकारी दिनु भएको छ । लोगो फेरि बनाउँदा चाँदी काम लाग्ने तर सुन भने काम नलाग्ने निर्माणकर्ता कार्यालयले संसद् सचिवालयलाई जानकारी दिइसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts