दिगो संरक्षण र समुचित उपयोगको महत्व बुझाउँदै ताप्लेजुङमा मनाईयो जडिबुटी दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १९ । ताप्लेजुङमा मंगलवार जडिबुटी दिवस तथा आचार्य महाराजको शुभजन्मोत्सव कार्यक्रम मनाईएको छ ।
पतञ्जली योग समिति ताप्लेजुङको आयोजना तथा जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रको प्राविधिक परार्मशमा जडिबुटी दिवस मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जडिबुटी तथा वन पैदावारको समुचित उपयोगले स्वास्थ्य तथा आर्थिक दुबै क्षेत्रमा लाभ आर्जन गर्न सकिने बताउनुभयो । जडिबुटी तथा गैर काष्ठ वन पैदावारको क्षेत्रमा नेपालले बलियो सम्भावना बोकेको औंल्याउँदै जडिबुटी परम्परागत उपचार पद्धतिका लागि निकै लाभदायक हुने बताउनुभयो । उहाँले परम्परागत उपचार पद्धतिका सीप र ज्ञानको संरक्षण तथा पुस्तान्तरणको खाँचो समेत औंल्याउनुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले योग र जडिबुटी दुबै एक आपसमा परम्परागत स्वास्थ्य प्रणाली आधार रहेको बताउनुभयो । जडिबुटीको उचित उपयोग र संरक्षण दुबै अहिलेको आवश्यकता रहेको ओझाको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले विगतका दिनहरु जडिबुटीको उपयोगबाट मानवीय स्वास्थ्यका अनेकौं समस्या हल भएको स्मरण गर्दै जडिबुटीको समुचित उपयोगसंगै दिगो संरक्षण जरुरी रहेको बताउनुभयो । प्रजिअ दाहालले पिता पुर्खाले जडिबुटीको उपयोगबाट समाधान गरेका स्वास्थ्य समस्याको बिषय अहिलेपनि आयुर्बेद चिकित्सा प्रणालीमार्फत संरक्षण हुँदै आएको बताउनुभयो । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख अजयकुमार झाले जडिबुटीको उपयोग संगै दिगो संरक्षण,व्यवसायिक खेति र प्रशोधनको उचित प्रवन्ध जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पतञ्जली योग समिति ताप्लेजुङका वरिष्ठ सल्लाहकार तथा नेपाल औषधी व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिका अध्यक्ष सुन्दरमोहन शाक्य,लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले जडिबुटीको महत्व र यसको दिगो संरक्षणका सवालहरुका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष सुष्मा शाक्यले योग र जडिबुटीको समानता र यिनिहरुको महत्व तथा आर्युबेद चिकित्सा प्रणालीका विभिन्न आयामबारे बताउनु भएको थियो ।
अन्तरकृया कार्यक्रमपछि जिल्ला समन्वय समितिको हाताभित्र जडिबुटीका विभिन्न प्रजातिका बिरुवाको रोपण समेत पतञ्जली योग समिति फुङलिङ नगर अध्यक्ष मूना राईले जानकारी दिनुभयो । कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति कृतार्थ शमशेर जवरा,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोरा,निमित्ति जिल्ला समन्वय अधिकारी कुलप्रसाद भट्टराई,प्रहरी निरीक्षक बिध्यालालकुमार शाह,सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली सहितको उपस्थिति रहेको थियो ।