|

ताप्लेजुङ गोल्डकप प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि,सहभागी हुने ८ वटा टिमको लाग्यो टुङ्गो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १५ । भदौ ३ गतेबाट ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगिताका बिजेता र उपबिजेताले पाउने पुरस्कार राशीमा बृद्धि गरिएको छ ।

लाखेजात्रा खेल सञ्चालन समितिले मंगलवार पत्रकार सम्मेलनमार्फत पुरस्कार रकममा गरिएको बृद्धि सहितका बिषयमा जानकारी गराएको हो । लाखेजात्रा सञ्चालन समितिका सचिव टीकेन्द्र नेपालीका अनुसार दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगिताको बिजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाएका थिए ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार यसपटकको प्रतियोगितामा एक विभागीय र स्थानीय सहित ८ वटा टीम प्रतिश्पर्धामा हुनेछन् । उहाँका अनुसार संघर्ष स्पोर्टिङ क्लव उकालीपानी(ताप्लेजुङ),वाईवाई पाँचथर फुटवल क्लव(पाँचथर),सगरमाथा स्र्पोटिङ क्लव(मोरङ),सलहेश युथ क्लव(सिराहा),त्रिभुवन आर्मी क्लव(काठमाडौं),बुटवल लुम्बिनी एफ.सी,झापा–११ र भारतको एक टिम सहभागी हुनेछन् । ताप्लेजुङ गोल्डकपको प्रथम संस्करणको बिजेता रेडहर्ष इलाम सहितका टीम यसपटक गोल्डकपस्थल भानुजन माविको खेलमैदानमा देखिने छैनन् ।

ताप्लेजुङ गोल्डकप रनिङ कप फुटबल प्रतियोगिता समेत नभएको र प्रत्येक बर्ष नयाँ टिम र खेलाडीहरुको खेल कौशललाई दर्शकमाझ प्रस्तुत गर्ने ध्येयका साथ अघिल्लो बर्ष गोल्डकपमा सहभागी केहि टिम यसपटकको खेलमा छुटेको आयोजक समितिले बताएको छ । यसपटक बिधागततर्फ सर्वोत्कृष्ट खेलाडलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । यस्तै उत्कृष्ट गोलकर्ता,उत्कृष्ट फरवार्ड,उदयमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत श्रेष्ठले बताउनुभयो । यसबर्षबाट हरेक खेलमा ‘फ्यान अफ द म्याच’घोषित हुने दर्शकलाई आर्कषक पुरस्कार समेत दिइने भएको छ । हरेक दिन बिक्री भएको टिकट(खेल प्रवेश शुल्क)लाई लक्की ड्र मार्फत छनौट भएका एकजनालाई नमस्ते मोवाइल सेन्टर फुङलिङका प्रोपाईटर सञ्जय थापाको सौजन्यमा एकसेट मोवाइल र फाइनलको दिन लक्की ड्र मा छनौट हुने एकजना दर्शकलाई एकथान स्मार्ट मोवाइल फोन प्रदान गरिने भएको छ ।

आयोजक समितिले क्वाटर फाइनलका खेल सम्मका लागि जनही १ सय,सेमीफाइनल खेलका लागि जनही २ सय र फाइनल खेलका लागि जनही २ सय ५० रुपैयाँ टिकटदर(प्रवेश शुल्क)निर्धारण गरेको समेत जनाएको छ । आयोजक समितिले ५ लाख वा सो भन्दा बढी सहयोग गर्ने दाताहरु मुख्य प्रायोजक,२ लाख ५१ हजार देखि ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्र्ने प्रायोजक र १ लाख देखि २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्ने सह–प्रायोजक रहने प्रवन्ध गरेको छ । ५० हजार देखि ९९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्ने गोल्डपकका सहयोगी हुने भएका छन् । ५ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्नेलाई आयोजकले एकथान प्रवेशपासको व्यवस्था गर्ने भएको छ । प्रतियोगिता नकाउट बिधिद्धारा खेलाइने भएको छ । सहभागी टिमका व्यवस्थापक,कोच,र स्वास्थ्यकर्मी गरी ३ जना तथा १६ जना खेलाडी गरी १९ जनालाई मात्र आयोजकले (खान,बस्न र यातायात समेत)को सुविधा प्रदान गर्ने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts