कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक,८ टिम सहभागी हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङको फुङलिङमा मंसिर १३ गते देखि हुने कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

चासोक तङनाम २०८२ को अवसर पारेर भानुजन माविको खेल मैदानमा हुने महिला गोल्डकपको पहिलो खेलमा मंसिर १३ गते सिरिजङ्गा गाउँपालिकाले मैवाखोला गाउँपालिकाको टिमसंग स्पर्धा गर्ने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको टिम आमनेसामने हुँदा १५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको टिमबिच भिडन्त हुने छ । पहिलो चरणको अन्तिम खेलमा मंसिर १६ गते सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिका भिड्दैछन् ।

मंसिर १७ गते हुने पहिलो सेमीफाइनलमा सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिचको बिजेतासंग फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबिचको बिजेता फाइनल यात्रामा लागि भिड्नेछन् । फाइनल पुग्ने दोस्रो टोलीको निर्णयका लागि मंसिर १८ गते पाथीभरा याङवरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको खेलको बिजेता तथा सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिकाबिचको बिजेता आमनेसामने हुनेछन् । मंसिर १९ गते साँस्कृतिक कार्यक्रम भई मंसिर २० गते फाइनल खेल हुने आयोजक कञ्चनजंघा फुङलिङ क्लवका अध्यक्ष अशोककुमार थेबेले जानकारी दिनुभयो ।

चासोक तङनाम सञ्चालन समिति,कञ्चनजंघा फुङलिङ क्लव र ङावरक सङजम्बो फुङलेङ मुख्य आयोजक भई हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो । म्यान अफ द म्याच हुने खेलाडीलाई जनही ५ हजार,बिधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही ८ हजार र सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मादेनले बताउनुभयो ।

Similar Posts