|

फक्ताङ्लुङमा प्रकोेप व्यवस्थापन कोष स्थापना

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १७ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । हरेक वर्ष बर्खा याममा पालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक प्रकोपको समस्याले पिरोल्ने हुँदा पीडित पक्षलाई सहयोग पु¥याउन गाउँपालिकाले कोष स्थापना गरेको हो ।
बर्खायामको मनसुनजन्य घटनाबाट अर्थात बाढीपहिरोका कारण जनधनको क्षति बेहोर्ने र विस्थापितसँगै प्रभावित हुने परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार पीडित परिवारका लागि संकलन हुने सहयोग रकमलाई व्यवस्थित गर्नसमेत कोष स्थापना गरिएको हो ।
प्रकोप व्यवस्थापन कोषमार्फत प्राप्त हुने सहयोग रकम वास्तविक पीडित परिवारलाई वितरण गर्न पनि सहज हुने गाउँपालिकाको विश्वास रहेको अध्यक्ष लिम्बूको भनाइ छ । कुनै समय सहयोगी निकाय वा संस्थाले उपलब्ध गराउने सहयोग वास्तविक पीडितसमक्ष नपुग्ने गरेको पाइएकाले प्राप्त हुने सहयोगलाई व्यवस्थित गर्न कोष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सहयोगदाता तथा संघ संस्थालाई अबदेखि आधिकारिक रुपमा स्थापना भएको कोषमार्फत सहयोग गर्न पनि आह्वान गरेको छ । कोषमा जम्मा हुने सहयोग रकम वास्तविक प्रकोप प्रभावित साथै पीडित परिवारको पहिचान गरी वितरण र हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै कोषमार्फत परिचालन हुने आयव्यय रकम गाउँपालिकाले प्रत्येक तीन महिनामा सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।
यसवर्ष मनसुनको सुरुवातमै फक्ताङ्लुङ गाउँपालिकामा बाढीपहिरोले जनधनसहित भौतिक संरचनामा ठूलो क्षति गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिको तथ्यांकअनुसार मनसुनको सुरुवात अर्थात गर्न जेठ ३२ गते अविरल वर्षासँगै गएको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा एकै परिवारका चारजनाको मृत्यु भएको छ । यस्तै अर्को एक परिवारका दुई जना घाइते हुनुभएको समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts