पाथीभरा क्षेत्रमा रोपियो धुपीको बिरुवा
-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १५ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा धुपीको बिरुवा रोपिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा धाम परिसरमा धुपीको बिरुवा रोपेको हो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पाथीभरा क्षेत्रमा वृक्षारोपण अर्थात धुपीको बिरुवा रोपिएको हो । पाथीभरा विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार मन्दिर परिसर भू–भागभित्रै धुपीको बिरुवा रोपिएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको भू–भाग धुपीका लागि उपयुक्त हुने भएकाले धुपीको बिरुवा रोपिएको हाङ्बाङले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, सशस्त्र प्रहरी नायय उपरीक्षक रवीन सिलवाल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलगायतको सहभागितामा वृक्षारोपण गरिएको हो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरा क्षेत्र यसवर्ष धुपीसहित विभिन्न प्रजातिको एक हजार बढी बिरुवा रोपिएको छ । वृक्षारोपणसँगै पाथीभरा क्षेत्रमा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमनसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले पनि शुक्रबार वृक्षारोपण गरेको छ । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने नाराका साथ विभिन्न ठाउँमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत विन्देश्वर साहले जानकारी दिनुभयो । उहाँका अनुसार आठराई त्रिबेणी गाउँपालिकाको चाँगे माध्यमिक विद्यालय परिसर र फुङ्लिङ नगरपालिकास्थित वीरेन्द्र माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
दुवै क्षेत्रमा मयुरपङ्खी लगायतका बिरुवा रोपिएको वन अधिकृत साहले जानकारी दिनुभयो । वृक्षारोपणमा वन कार्यालयका प्रमुख रामजी साह, वन अधिकृत देवचन्द्र गोइत, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको छ ।