बर्ड फ्लु रोग बिरुद्ध ताप्लेजुङमा पूर्व सर्तकता,फुङलिङमा पंक्षि तथा पंक्षिजन्य उत्पादनको नमूना संकलन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । तराईका जिल्लामा बर्ड फ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सर्तकताका अभियान सुरु गरिएको छ ।

जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको निर्देशन अनुसार शनिवार ताप्लेजुङको फुङलिङ बजारमा पंक्षि तथा पंक्षिजन्य सामग्री बिक्री बितरण गर्ने व्यवसायको अनुगमन गर्दै पंक्षि तथा पंक्षिजन्य उत्पादनको नमूना संकलन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्व तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको संयोजनमा यहाँका १८ वटा पसलबाट पंक्षि तथा पंक्षिजन्य उत्पादनको नमूना संकलन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार संकलन भएको नमूनाको परीक्षण गरी बर्ड फ्लु भए नभएको पत्ता लगाइने छ ।‘परीक्षणको नतिजाका आधारमा थप कार्ययोजना बनाईने छ’सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

शुक्रवार मात्र जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले पंक्षि तथा पंक्षिजन्य उत्पादनको नमूना संकलन गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार नमूना संकलन गरी प्राप्त नतिजाका आधारमा अब कसरी अघि बढ्ने भन्ने बारेमा कार्ययोजना बनाइने प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बताउनुभयो । जिल्ला बर्ड फ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले झापा,मोरङ र सुनसरीमा अनियन्त्रित तवरले फैलिएको बर्डफ्लु ताप्लेजुङमा भित्रन नदिन पंक्षि र पंक्षिजन्य वस्तु भित्रिने चेक पोइन्टमा विशेष निगरानी गर्ने र भित्रिएको पाइए नष्ट गर्ने निर्णय गरेको थियो । अर्को सूचना नहुन्जेलसम्म झापा,मोरङ र सुनसरी जिल्लाबाट पंक्षि तथा पंक्षिजन्य वस्तु नल्याउन सरोकारवालालाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सेढाइँले बताउनुभयो ।
फुङलिङ बजारमा पंक्षि तथा पंक्षिजन्य उत्पादनको नमूना संकलन गरिदैं ।

Similar Posts