| |

ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्व रुपियाँ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १० । ताप्लेजुङको एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल पाँच अर्ब रुपियाँ बजेट सार्वजनिक गरेका छन् । सोमबार सात र यसअघि दुई स्थानीय तहले आगामी आवको लागि उक्त बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले आगामी आवका लागि कुल ६६ करोड ७६ लाख ७३ हजार ५५१ रुपियाँ बजेट ल्याएको छ । फुङ्लिङ पछि दोस्रोमा सिरिजंघा गाउँपालिकाले कुल ५३ करोड ७७ लाख २९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
यस्तै आठराई त्रिबेणी गाउँपालिकाले कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले ४६ करोड ७७ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड रुपियाँ रहेको छ ।
यसैगरी मैवाखोलाखा गाउँपालिकाको आगामी आवका लागि ४५ करोड ५३ लाख ३२ हजार रुपियाँ बजेट ल्याएको छ । मेरिङ्देन गाउँपालिकाले ४० करोड २० लाख ३० हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले ३७ करोड ४७ लाख ३२ हजार बजेट ल्याएको छ । जिल्लाका स्थानीय तहले सार्वजनिक गरेको बजेटमा ६५ प्रतिशत बढी चालू बजेट रहेको छ भने करिव ३५ प्रतिशत मात्र पुँजीगत बजेट रहेको छ ।
नौमध्ये सात स्थानीय तहले सोमबार बजेट सार्वजनिक गरेका हुन् भने दुई स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाले शनिबार र मैवाखोला गाउँपालिकाले आइतबार नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । बजेट सार्वजनिक गरेका स्थानीय तहहरुले आउँदो असार २८ गतेसम्ममा प्रस्तुत बजेट पारित गर्नेगरी तयारी गरेको जनाएका छन् । स्थानीय तहले अधिकांस पुरानै योजनालाई निरन्तरता दिएको पाइएको छ भने केही पृथक र नयाँ योजनाहरु पनि समावेश गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts