|

दुई सातासम्मको वर्षा-बादलपछि खुल्यो मौसम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ६ । ताप्लेजुङसहित पूर्वका जिल्लामा मनसुनी वर्षासँगै प्रतिकूल बनेको मौसम दुई सातापछि खुलेको छ । निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै बिहीबार अपराह्नदेखि मौसम खुलेको हो ।
गत जेठ २७ गते आइतबारदेखि ताप्लेजुङसहित पूर्वी क्षत्रेमा मौसम बद्लिएको थियो अर्थात पानी पर्न सुरु भएको थियो । सुरुमा सामान्य वर्षा भए पनि गएको शनिबार रातिदेखि भीषण वर्षा भएको र वर्षाको क्रम बिहीबार बिहानसम्म कायम रहेको थियो । जनधनसहित ठूलो क्षति पु¥याउनेगरी भएको निरन्तरको वर्षा बिहीबार बिहान करिव ११ बजे पछिदेखि रोकिएको छ ।
वर्षा अर्थात पानी पर्ने क्रम रोकिएसँगै ताप्लेजुङसहित पूर्वका पहाडी जिल्लाहरुमा घाम लागेको छ । निरन्तरको झरी र वर्षाका त्राससहित विभिन्न समस्या खेप्दै आएका सर्वसाधारण घाम लाग्न थालेपछि खुसी भएका छन् । फुङ्लिङ नगरपालिका ५ का स्थानीय सुकदल लिम्बूले झण्डै दुई सातापछि आज (बिहीबार) घाम देख्न पाएको बताउनुभयो ।
घाम लाग्न थालेपछि निरन्तरको झरी र वर्षाका कारण बाढीपहिरो जाने, चट्याङसहितका अन्य समस्या केही कम भएर जानेमा सर्वसाधारण विश्वस्त बन्न थालेका छन् । अविरल वर्षाका कारण बाढीपहिरो र चट्याङको त्रासमा समय बिताउँदै आएका सर्वसाधारणले आवश्यक काम पर्दा पनि बाहिरेफेर हिडडुल गर्न नपाउँदा निकै सास्ती खेप्दै आएका थिए ।
बर्खा याम भएकाले वर्षा, झरी र बादल हुने नै भए पनि हप्तौंसम्म निरन्तर वर्षा भई दिँदा र मौसम नखुल्नाले सर्वसाधारणले निकै सास्ती खेप्दै आउनुपरेको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका स्थानीय बसन्त लिम्बूले बताउनुभयो । समय–समयमा वर्षा भई दिने र सोहीअनुसार समय–समयमा मौसम खुल्दा किसानसहित सबैलाई राम्रो हुने लिम्बूको भनाइ छ ।
यता करिव दुई सातासम्म निरन्तर वर्षा हुँदा ताप्लेजुङमा मात्र बाढीपहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन् । यस्तै सयौं चौपाया तथा पशुपन्छी मरेका छन् । हालसम्म ८१ परिवार विस्थापित भएका छन् भने सयौं परिवार पहिरोको जोखिम परेका छन् । यसैगरी सडक, पुलपुलेसा, खानेपानी, विद्यालय भवन, विद्युतलगायतका संरचनामा पनि बाढीपहिरोले क्षति पु¥याएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts