|

हाङ्पाङमा सञ्चालित उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ,असार १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा सञ्चालित सात दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र हाङ्पाङमा जेठ २७ गतेदेखि सञ्चालित उद्घोषण तथा भाषणकलासम्बन्धी सात दिने तालिम शनिबार सम्पन्न भएको हो ।
नेतृत्व तथा क्षमता विकासको उद्देश्य राखेर आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा महिला उत्थानका लागि प्रगतिशील मञ्चले आयोजना गरेको तालिमबाट उद्देश्य अनुसार लक्ष्य प्राप्त गरेको तालिमका सहभागीले प्रतिक्रिया दिएका छन् । समापन समारोहमा बोल्दै सहभागीहरु शान्ता गुरुङ, लीला खड्का, शारदाकुमारी बिमली, सीता बराइली, सञ्चिता मगर, धनमाया पौडेल, लैला सिंघक लगायतले मानिसहरुका अघि बोल्न धकाउने र डराउने विगतलाई आफूहरुले भुलेको बताएका छन् ।
सहभागीहरुले अब कार्यक्रमहरुमा मन फुकाएर बोल्न, गाउँघरमा हुने सानातिना कार्यक्रमको उद्घोषण गर्न र मर्यादाअनुसार अतिथिको बिदाई तथा स्वागत गर्न सक्ने प्रतिक्रिया दिए । तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले सात दिनसम्म आर्जन गरेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नु भएको छ ।
नेतृत्व तथा क्षमता विकासका लागि पालिकाले बिभिन्न कार्यक्रम तय गर्दै आएको बताउँदै अध्यक्ष पोमुले तालिम सहभागीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले नेतृत्व र क्षमता विकास नभएसम्म पछाडि पारिएको समूह र वर्गको उत्थान नहुने भन्दै यस्ता तालिमबाट प्राप्त सीपको उचित उपयोगले निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता झल्कने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले तालिमको प्रगति देखेर आफूलाई खुसी लागेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले तालिम सिकाइमा मात्र केन्द्रित हुन नहुनेभन्दै सहभागीहरुको तालिम अघि र तालिम पछिको निडरतापूर्वक उभिने शैलीले सिकाइ अर्थपूर्ण र उद्देश्यअनुसार प्रदान गर्न विश्वास गर्न सकिने बताउनुभयो ।
तालिम समापन समारोहमा आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङसहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमका सहजकर्ता एवम् नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको प्रस्तुति सुन्दा र हेर्दा आफूले तालिम अवधिमा लगाएको मेहनेतले सार्थकता पाएकोभन्दै प्रसन्नता व्यक्त गर्नुभयो । तालिममा कार्यपालिका सदस्य, वडा सदस्य र गाउँपालिकाका ५ वटै वडाबाट गरी कूल २८ जना महिलाको सहभागिता रहेको तालिम आयोजक महिला उत्थानका लागि प्रगतिशील मञ्चका अध्यक्ष बबिता पोमूले जानकारी दिनुभयो ।
तालिममा सार्वजनिक कार्यक्रम कसरी सञ्चालन गर्ने, अतिथिहरुलाई कसरी सम्मानपूवर्क स्वागत तथा बिदाई गर्ने, मञ्च व्यवस्थापन कसरी गर्ने, उदेषकले के तयारी गर्ने, कार्यक्रमलाई कसरी रोचक बनाउनेदेखि स्वागत मन्तव्य, शुभकामना मन्तव्य, बिदाई मन्तव्य, श्रद्धाञ्जली मन्तव्य, चुनावी भाषण गर्ने तरिकासहितका बिषयमा सहभागीलाई सैद्धान्तिक र व्यहारिक शिक्षा प्रदान गरिएको तालिमका सहजकर्ता अधिकारीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts