वर्तमान सत्ता समिकरण अदलबदलको सम्भावना छैन,बजेट अधिबेशन निर्वाध चल्नेमा विश्वस्त ः एमाले सचिव भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २२ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले यसैसाता सुरु हुने संसदको बजेट अधिबेशन निर्वाध ढंगले अघि बढ्ने विश्वास लिनु भएको छ । उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएको र सो भन्दा अघि राज्यका निकायमार्फत सहकारी तथा वित्तीय संस्थासंग सम्वन्धित सवालहरुको छानबिन हुनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ ताप्लेजुङले शनिवार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत भट्टराईले आउँदो संसद अधिबेशन सहज र निर्वाध ढंगले अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका राजनीतिक दलहरु सहमतिमा आउनुको विकल्प नभएको बताउनुभयो ।‘सहकारी तथा बिभिन्न वित्तीय संघसंस्थासंग सम्वन्धित बिषयमा उठेका सवालहरु राज्यका निकायले छानबिन गरुन्,अदालतमा समेत रहेको यो प्रकरणलाई संसदले हस्तक्षेप गर्न मिल्दैन’भट्टराईले भन्नुभयो । उहाँले राज्यका निकायबाट सम्भव नभए छानबिनको अन्तिम अस्त्रको रुपमा मात्र संसदीय छानबिन समिति बनाउनुपर्ने समेत बताउनुभयो । गलत क्रियाकलाप माथि छानबिन र दण्डित हुनुपर्नेमा सबैको एकमत रहेपनि अन्तिम हतियारको रुपमा रहेको संसदीय छानबिन समितिलाई सुरुकै चरणमा प्रयोग गर्न त्यति उचित नहुने उहाँको भनाई थियो । उहाँले अदालतमा रहेको बिषयमा संसदले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नहुने बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो बैशाख २८ गतेका लागि संघीय संसदको अधिबेशन आवह्वान गर्नु भएको छ । नेता भट्टराईले अहिले तत्कालै वाम एकताको ध्रुवीकरण सुरु भई नसकेको बताउनुभयो ।‘एमाले कम्युनिष्ट एकताको बिषयमा हतारमा निर्णय गर्ने पक्षमा छैन,बिचार मिल्दै गए एकतातर्फ जान पनि सक्छ’उहाँले भन्नुभयो । अहिलेको सत्ता समिकरणमा तत्काल कुनै फेरबदल नआउने बताउँदै भट्टराईले २०८४ सालको निर्वाचन सम्म यही सरकार र समिकरण कायम रहनेमा एमाले दृढ रहेको उल्लेख गर्नुभयो । एमालेकै सोचमा अहिलेको सत्ता समिकरण तयार भएकोले एमाले अहिलेको समिकरण अदलबदलको दिशामा नरहेको भट्टराईले बताउनुभयो । आगामी बजेटमार्फत जनपक्षिय नीति र कार्यक्रम ल्याईने समेत उहाँको भनाई थियो । बिग्रदै गएको अर्थतन्त्रको सुधार,सुस्त हुँदै गएको विकास निर्माणलाई तीव्र गति,अन्तराष्ट्रिय सम्वन्धमा सुधार र सन्तुलन,संविधानको कार्यान्वयन र स्थिर राजनीतिक वातावरणका लागि अहिलेको सरकार र सत्ता समिकरण तीव्र सक्रिय हुने उहाँले बताउनुभयो ।

‘सत्ता समिकरण बनाउँदा ड्राईभरलाई थाह थियो कि म सवारी कता लाँदै छु,तर प्यासेन्जरलाई थाह थिएन की हामी कहाँ जाँदै छौं’सत्ता समिकरणका रहेका दलहरुका केहि असन्तुष्टी बारे भट्टराईले यस्तो प्रतिक्रिया दिनुभयो । केहि समय अघि सम्पन्न उप निर्वाचनको परिणामले देशका मुख्य शक्तिहरु भनेको एमाले–काँग्रेस नै हुन् र देश निर्माणमा उनीहरुकै जिम्मेवारी कायम छ भन्ने देखाएको बताउँदै भट्टराईले ‘मास सेन्टिमेन्ट’को रुपमा कुनै शक्तिको उदय हुने भएपनि त्यो दीर्घकालिन नहुने सन्देश उप निर्वाचनमार्फत प्रकट भएको बताउनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुने केवलकारका बिषयमा विमति राख्ने पक्षका अधिकाँस सवालहरुको सम्बोधन भइसकेकोले अब केवलकार निर्माणको विरोध गर्न उपयुक्त नभएको समेत भट्टराईले बताउनुभयो ।‘अझै केहि छ भने बसौं,सार्थक समाधान खोजेर केवलकार निर्माणको प्रकृया तुरुन्त अघि बढाऔं’उहाँले केवलकार निर्माणमा विमति राख्ने पक्षलाई सार्थक छलफलका लागि आवह्वान समेत गर्नु भएको छ ।

कोशी प्रदेश नामाकरणको बिरोधको प्रकृया समेत उप्काउँदै भट्टराईले प्रदेश नामाकरणको सार्वभौम अधिकार सम्वन्धित प्रदेशसभामा निहित रहने दोहो¥याउनुभयो । भट्टराईले एमाले ताप्लेजुङको जिल्ला अधिबेशनमार्फत पार्टीलाई बलियो र सुद्रिढ बनाउने नेतृत्व आउनुपर्ने आफ्नो भनाई रहेको बताउनुभयो ।‘बिचारमा बहुदलिय जनवाद,देशभरका पार्टी सदस्यको दायित्व पार्टी बलियो बनाउने भन्ने र केपी ओलीको नेतृत्वमा बिवाद छैन,भट्टराईले भन्नुभयो । नयाँ नेतृत्व समेत चयन गर्नेगरी एमाले ताप्लेजुङको १२ औं अधिबेशन बैशाख २४ र २५ गते हुँदैछ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts