एक आर्थिक बर्षमा ताप्लेजुङमा ९१ वटा विपद्का घटना,१० जनाको मृत्यु,३२ जना घाइते

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । ताप्लेजुङमा आर्थिक बर्ष २०८२।८३ को एक आर्थिक बर्षको अवधिमा भएका विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुुसार एक आर्थिक बर्षमा भएका ९१ वटा विपद्का घटनामा परी ५ महिला,४ पुरुष र १ बालिका गरी कुल १० जनाको मृत्यु भएको छ । भट्टराईका अनुुसार आगलागीका घटनामा परी २ महिला र २ पुरुष गरी ४ जना,बाढीमा घटनामा परी १ महिला र १ बालिका गरी २ जना,पहिरोका कारण १ पुरुष र १ महिला गरी २ जना,चट्याङका कारण १ पुरुष र लेक लागेर १ महिलाको ज्यान गएको हो । विपद्का घटनामा परी १६ पुरुष,१० महिला,५ बालक र १ बालबालिका गरी कुल ३२ जना घाइते भएको प्रशासन कार्यालयले जनाएको छ ।

४ पुरुष र १ बालिका गरी ५ जना विपद्का घटनाबाट वेपत्ता भएका छन् । विपद्का घटनामा परी २६ वटा घर,३ वटा उद्योग र ९ वटा पुलमा क्षति पुगेको समेत प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी आगलागीका घटनामा २० वटा घरमा क्षति भएको छ भने पहिरो र हावाहुरीबाट समान ३–३ वटा घरमा क्षति पुगेको छ । एक आर्थिक बर्षमा २५ वटा आगलागीका घटना,३ वटा जंगल आगलागीका घटना,१७ वटा बाढीका,९ वटा पहिरोका,१० वटा चट्याङका,४ वटा जंगली जनावरको आक्रमणका,१७ वटा सर्पदंशका,३ वटा लेक लाग्ने र ३ वटा हावाहुरीका घटना भएका छन् ।

Similar Posts