नयाँ बर्षको दिन ताप्लेजुङको सिरिजङ्गाद्धारा पालिकाको आफ्नै लोगो सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले नयाँ बर्षसंगै आफ्नै लोगो सार्वजनिक गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले लोगो सार्वजनिक भएसंगै अब पालिका मातहतका सबै कार्यालयहरुले लोगोको प्रयोग गर्नुपर्ने बताउनुभयो । सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन स्थायी घर भई हाल झापा बस्दै आएका समय बुढाथोकीले तयार पारेको लोगोलाई गाउँपालिकाले स्वीकृति प्रदान गरेको छ ।

अब पालिका र पालिका मातहतका सबै कार्यालयले लेटरप्याड र अन्य सरकारी प्रयोजनका काममा स्वीकृत प्राप्त लोगो प्रयोग गर्नुपर्ने भएको छ । लोगोको प्रथम भागमा लिम्बू भाषा तथा लिपीको सर्जक तथा संरक्षक त्येअङ्सी सिरिजङ्गासिंह थेवेलाई अंकित गरिएको छ । सिरिजङ्गा सिंह थेवेको योगदानलाई कदर गर्दै गाउँपालिकाको नाम सिरीजङ्घा रहन गएको हो ।

यस्तै कञ्चनजंघा र पाथीभराको आवरण समेत लोगोमा खुलाईएको छ । कञ्चनजंघा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन क्षेत्रमा पर्ने तथा पाथीभरा सिरिजङ्गा सहित फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका पर्ने भएकोले लोगोमा यि दुबै महत्वका क्षेत्रलाई महत्वपूर्ण स्थान दिईएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले पालिकाको मुख्य नारा नै‘सिरिजङ्गाको गौरव,कञ्चनजंघा’तय गरी पालिकाका तथा मातहतका कार्यालयका लेडरप्याड तथा प्रत्येक गतिविधिमा सोहि नारा लेख्दै आएको छ । यस्तै राष्ट्रिय फूल लालीगुराँस,स्थानीय प्रमुख नगदेवाली उत्पादन अलैंची,धानको बाला,सिरिजङ्गा लिपि,पालिकाको नक्सा र काबेली नदीलाई लोगोको आवरणमा राखिएको छ । ताप्लेजुङका अधिकाँस पालिकाले यसअघिबाटै आफ्नै लोगो बनाई प्रयोगमा ल्याईसकेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts