एसईई परीक्षामा ताप्लेजुङका ४ परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने,सिनाम माविमा पोखरेल केन्द्राध्यक्ष

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ११ । चैत १५ गते देखि हुने माध्यमिक शिक्षा परीक्षाका लागि ताप्लेजुङका १७ वटा केन्द्रमध्ये ४ वटा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने भएका छन् ।

७५ भन्दा कम परीक्षार्थी रहेका केन्द्रहरुमा सहायक केन्द्राध्यक्ष राख्न नपाउने नियम रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । सिँवा माध्यमिक बिद्यालय लिङखिम(७० जना),सिद्धकाली माध्यमिक बिद्यालय दोखु(५५ जना),गणेश माध्यमिक बिद्यालय खेवाङ(६२ जना) र सरस्वती माध्यमिक बिद्यालय तापेथोक(५४ जना)मा सहायक केन्द्राध्यक्ष नहुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । अन्य १३ वटा परीक्षा केन्द्रमा भने एक–एकजना सहायक केन्द्राध्यक्ष रहने छन् ।

अघिल्लो बर्षको परीक्षामा बिद्यार्थी संख्याको आधारमा एकभन्दा बढी सहायक केन्द्राध्यक्ष समेत रहने व्यवस्था भएकोमा यसबर्ष ७५ भन्दा कम परीक्षार्थी केन्द्रमा भएको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने र ७५ भन्दा जति नै बढी परीक्षार्थी भएपनि एकजना सहायक केन्द्राध्यक्ष नियुक्त गर्न पाउने गरी व्यवस्था भई आएको समेत भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरका १७ वटा परीक्षा केन्द्रमा ९० जना निरीक्षक खटिने भएका छन् । उहाँका अनुसार २० परीक्षार्थी बराबर एकजना निरीक्षक राख्न पाउने व्यवस्था रहेको छ ।

यसैबीच जिल्ला परीक्षा समन्वय समितिले सिनाम माध्यमिक बिद्यालय सिनाम परीक्षा केन्द्रमा यसअघि केन्द्राध्यक्ष हुनु भएका महेन्द्रप्रकाश गौतमको स्थानमा सोहि बिद्यालयका शिक्षक तुलसीराम पोखरेललाई नयाँ केन्द्राध्यक्ष चयन गरेको छ । गौतमले व्यस्तताको कारण देखाउँदै केन्द्राध्यक्षको जिम्मेवारी पोखरेललाई हस्तान्तरण गर्न जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गर्नु भएको थियो । सोहि आग्रह अनुसार परीक्षा समन्वय समितिले पोखरेललाई सिनाम मावि परीक्षा केन्द्रको नयाँ केन्द्राध्यक्षको जिम्मेवारी प्रदान भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

एसईई परीक्षाका लागि परीक्षा केन्द्र तोकिएका बिद्यालयका प्रधानाध्यापक वा बरिष्ठतम् शिक्षकलाई केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ । पोखरेल बाहेक यसअघि तोकिएका केन्द्राध्यक्ष भने कायमै रहनु भएको छ । ताप्लेजुङबाट यसबर्ष नियमिततर्फका १ हजार ६ सय ९५,ग्रेडबृद्धितर्फका ६९ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० बिद्यार्थीले परीक्षा लेख्दै छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts