|

मौलिक संस्कृति र स्थानीय उत्पादन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनको योजनामा सिरिजङ्गा,५० प्रतिशत अनुदान दिइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका तीनवटा वडालाई लक्षित गर्दै होमस्टे सञ्चालनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

पालिकाको केन्द्र समेत रहेको वडा नं ४ तेल्लोक,वडा नं ६ मामाङ्खे र वडा नं ८ याम्फुदिनमा होमस्टे सञ्चालनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार गाउँपालिकाले होमस्टे सञ्चालन सम्वन्धी कार्यविधि समेत बनाएको छ । पालिकाले कञ्चनजंघा पर्यटकीय मार्ग तथा कञ्चनजंघा लोकमार्गलाई छोएका होमस्टेहरुलाई बिशेष प्राथमिकता दिएर अनुदान उपलब्ध गराउने समेत जनाएको छ । होमस्टे सञ्चालकले स्थानीय मौलिकता प्रवद्र्धन गर्नुपर्ने आधारभूत सर्त अघि सारिएको छ ।

आधुनिकताको नाममा मौलिक सांस्कृतिक प्रतिकूल हुने कार्यलाई कार्यविधिले बन्देज गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार प्रत्येक सामुदायिक होमस्टेका लागि भिन्न–भिन्न स्वामित्व भएका कम्तिमा ५ वटा घर(होमस्टे युनिट)हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यस्तो अवस्थामा एक आपसमा सहज पहुँचका लागि बाटोको प्रवन्ध हुनुका साथै मौलिक संस्कृतिमा झल्किएका घर,हावाहुरी र जंगली जनावरबाट सुरक्षित भएको हुनुपर्ने,हिलो र धुलो रहित घरहरु हुनुपर्ने छ ।

यस्तै होमस्टे पाहुनाका लागि कम्तिमा एउटा अलग्गै कोठा हुनुपर्ने,निजी होमस्टेमा पर्यटकका लागि कम्तिमा ४ वटा कोठा र ८ वटा बेड अनिवार्य भएको हुनुपर्ने छ । घरको भुँईमा कार्पेट वा राडी वा गलैंचा वा सफा गुन्द्री हुनुपर्ने,ढोकामा खुट्टा पुच्छने सफा बोरा वा डोरम्याट हुनुपर्ने,नरम खालको सेतो तन्ना भएको र सेतै खोल भएको ओढ्नेको प्रवन्ध भएको हुनुपर्ने,भित्ता वा ढोकाको पछाडि लुगा झुण्ड्याउने व्यवस्था भएको हुनुपर्ने,कोठामा बिजुली बत्ति वा लालटिन वा मैन वा टुकी वा पानस बाल्ने व्यवस्था हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै सुत्ने कोठामा धुँवा आउन नहुने र भ¥याङ कोठामा पर्यटक सुताउन नपाईने,सुत्ने कोठामा मौलिक संस्कृतिमा आधारित राम्रा दृश्य झल्कने तस्बिरको प्रयोग भएको भए राम्रो हुने,प्रत्येक पाहुनाका लागि एकजोर चप्पल र तौलियाको प्रवन्ध भएको हुनुपर्ने,भित्तामा अर्धकद देखिने ऐना झुण्ड्याएको हुनुपर्ने र कोठामा एउटा चिया खाने बेला प्रयोग हुने टेवलको प्रवन्ध गरिएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यस्तै सुविधायुक्त र सफा शौचालय,नुहाउने प्रवन्ध सफा र सुविधायुक्त हुनुपर्ने,स्नानगृहमा पानीको बाल्टी,मग,साबुन,रुमाल जस्ता आधारभूत सामग्री हुनुपर्ने छ ।

पाहुना राख्ने घर र भान्छा कोठा नजिक पशुपंक्षी बाँध्न नहुने,भान्छा कोठामा धुँवा रहित सुधारिएको वा उन्नत चुल्हो हुनुपर्ने,पानीको सुबिधा मिलाउनुपर्ने र फिल्टर गरेर वा उमालेर पानी दिने व्यवस्था भएको हुनुपर्ने,स्थानीय खानाका परिकारहरुलाई प्राथमिकता दिनुपर्ने र खाना स्वस्थ्यकर ढंगले पकाउने र खुवाउने प्रवन्ध गर्नुपर्ने,नेपालीहरुलाई राम्रोसंग पलेंटी मारेर खान मिल्ने ठाउँको प्रवन्ध हुनुपर्ने,विदेशीको हकमा सानो डाइनिङ टेवलको प्रवन्ध गर्ने,खानपिन विवरण र मूल्यको व्यवस्था गरिएको मेनुको व्यवस्था गरिएको हुनुपर्ने र प्रचलित दरभन्दा बढी मूल्य लिन नपाइने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै मुसा लामखुट्टे,उपियाँ,उडुस आदिबाट सुरक्षित भएको स्थान हुनुपर्ने,दुर्गन्ध वा पशुपंक्षीको गोठ या खोर भन्दा टाढा हुनुपर्ने,खुल्ला नाली र ढल हुन नहुने,सामुदायिक रुपमा प्राथमिक उपचारको प्रवन्ध भएको हुनुपर्ने कार्यविधि बनेको छ । कार्यविधिमा वातावरणमैत्री पर्यटनक क्रियाकलाप,पर्यटकिय सम्पदाको संरक्षण,सार्वजनिक शौचालयको व्यवस्था,वृक्षरोपण र हरियाली वातावरण भएकालाई होमस्टे अनुदानमा प्राथमिकता दिने कार्यविधि गाउँपालिकाले जनाएको छ ।

होमस्टे सञ्चालन गर्न चाहनेले उल्लेखित मापदण्ड पूरा भएका कागजात,सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र र यसै प्रयोजनका लागि अन्यत्र कुनै निकायबाट अनुदान प्राप्त नगरेको स्वघोषण समेत संलग्न राखी चैत ७ गतेका मितिले ३५ दिन पालिकामा दरखास्त दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

Similar Posts