|

पाथीभरा केबलकारको विरोधमा यातायात व्यवसायी

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन् । स्थानीय सरोकारवालाको भावनाविपरीत केबलकार निर्माण गर्न लागिएकोभन्दै यातायात व्यवसायीले परियोजनाको विरोध गरेका हुन् ।
स्थानीय यातायात व्यवसायीले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकारको विरोध गरेका हुन् । स्थानीयको भावनाविपरीत साथै आदिवासी भूमि र धार्मिक तथा साँस्कृतिक स्थलमाथि अतिक्रमण गर्न खोजिएकोभन्दै यातायात व्यवसायीहरु केबलकार परियोजनाको विरुद्धमा उभिएका हुन् ।
“पवित्र धार्मिकस्थल पाथीभराको छुट्टै साँस्कृतिक परम्परागत मान्यता र विशेषता रहेको छ । पाथीभराको विल्कुल असंशोधित धार्मिक मान्यता र विशेषता भएकाले यसको महत्व समाप्त हुनेगरी केबलकार निर्माण गर्नुको कुनै सार्थकता हुँदैन” यातायात व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन् । ऐतिहासिक धार्मिकस्थल भएकाले यहाँका आदिवासी थाक्थुङ (लिम्बू) समुदायसँग छलफल गरेर मात्र मुन्धुमी मान्यताअनुसार पाथीभराको विकास गर्नु आवश्यक हुने पनि व्यवसायीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यातायात व्यवसायीले केबलकार परियोजनाको सुरुदेखि नै विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । केबलकार विरुद्धको आन्दोलनमा यातायात व्यवसायीको ऐक्यवद्धता प्रेस विज्ञप्तिमा मात्र सीमित नहुने उल्लेख गरेका छन् ।
पाथीभरा दर्शनमा आउजाउ गर्ने हजारौं भक्तजनलाई सेवा दिँदै आएको यातायात व्यवसायमा प्रभाव पुग्नेगरी केबलकार निर्माणको काम थालेमा सशक्त संघर्षमा उत्रनेसमेत व्यवसायीको चेतावनी छ । केबलकार परियोजनाविरुद्ध मेवा ताप्लेजुङ यातायात प्रालि, हिमाल यातायात प्रालि, पाथीभरा यातायात सेवा प्रालिसहित विभिन्न १३ वटा यातायात व्यवसायसम्वद्ध संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका हुन् ।
यता मुक्कुमलुङ संयुक्त संघर्ष समितिले केबलकार परियोजना निर्माणको प्रस्ताव गरेदेखि नै विरोध गर्दै आएको छ । पाथीभरा (मुक्कुमलुङ) आदिवासी जनजाति लिम्बू समुदायको पवित्र धार्मिक मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गर्न नहुनेभन्दै समिति संघर्षरत रहेको छ । समितिले केबलकारविरुद्ध जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आइरहेको छ ।
पाथीभरामा उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । केबलकार परियोजना निर्माणका लागि प्रालिले सबै प्रक्रिया पूरा गरी निर्माणको काम थाल्ने अन्तिम तयारी गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts