ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको खेवाङको एकीकृत घुम्ति शिविरमा याम्फुदिन सहितका साढे सातसयले लिए सेवा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ३० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ति सेवा शिविरको दोस्रो दिन पालिकाको वडा नं ७ खेवाङमा भएको शिविरमा झण्डै साढे सातसय बढीले सेवा लिएका छन् । वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनका सेवाग्राहीलाई लक्षित गरी गणेश मावि खेवाङमा एकीकृत घुम्ति सेवा शिविर गरिएको थियो ।

एकीकृत घुम्ति सेवा शिविरको पहिलो दिन २ सय ४६ जनाको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि बितरण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर सञ्जित भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गरिएकामध्ये अधिकाँस घुँडा दुख्ने र हात झमझम गर्ने समस्याबाट ग्रसित भेटिएका छन् ।

एकीकृत घुम्ति शिविरका क्रममा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखाको परीक्षण तथा उपचार गरिएको छ । मेची आँखा अस्पतालका नेत्र सहायक निरज दाहालका अनुसार मामाङ्खेमा २ सय ९५ जना आँखाका बिरामीको परीक्षणका क्रममा ७ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । उनीहरुलाई शल्यकृयाका लागि सिफारिस गरिएको छ । शिविरकै क्रममा १ सय ३१ जनालाई निःशुल्क चश्मा तथा अन्यलाई औषधि बितरण भएको छ ।

शिविरमा गाउँपालिकाले बितरण गर्ने सेवाका अलवा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आँखाको रोगीहरुको उपचार तथा परीक्षणका कार्य हुनेछन् । गाउँपालिकाले मोतियाबिन्दुमुक्त गाउँपालिका बनाउने गरी अभियान सञ्चालन समेत गरिरहेको छ ।

चैत ५,६ र ७ गते पालिकाको केन्द्र तेल्लोकमा मोतियाबिन्दुको शल्यकृयाका लागि छनौट भएका बिरामीहरुको आँखाको शल्यकृया समेत गरिने पालिकाले जनाएको छ । यस्तै कृषि विकास शाखाबाट ५३ सेवाग्राहीलाई अलैंचीमा लाग्ने रोग बिरुद्धको बिषादी बितरण तथा कृषि परार्मश सेवा प्रदान तथा पशु स्वास्थ्य शाखाबाट ४७ सेवाग्राहीलाई पशु रोग परार्मश सेवा बितरण गरिएको छ ।

सेवा बितरण अन्र्तगत पञ्जीकरणतर्फ एकजनाको जन्मदर्ताको प्रतिलिपि बितरण तथा एकजनाको बिबाह दर्ता गरिएको पालिकाका एमआईएस अपरेटर लीलानाथ पौडेलले जानकारी दिनुभयो । २ वटा अपाङ्गता परिचय पत्रको निबेदन संकलन गरिएको समेत पौडेलले बताउनुभयो ।

यस्तै बिभिन्न कार्य प्रयोजनका लागि वडा कार्यालयकोतर्फबाट १० वटा सिफारिस पत्र बितरण भएको सिरिजङ्गा गाउँपालिका वडा नं ७ मामाङ्खेका वडा सचिव रवीन घिमिरेले बताउनुभयो । यस्तै वडाबाट एकथान नाता प्रमाणित समेत भएको छ भने ७ घरधुरीले भूमीकर बुझाएका छन् ।
नेपाल बैंक लिमिटेड तेल्लोक शाखामार्फत १५ जना सेवाग्राहीको स्थलगत रुपमै बैंक खाता खोल्ने सहितका बैंकिङ परार्मश सेवा बितरण भएको शाखाका कर्मचारी मिलन बिकले बताउनुभयो ।
शिविरमार्फत तीनवटा व्यवसायिक दर्ता गरिएको सिरिजङ्गा गाउँपालिकाको प्रशासन शाखाका भवानीराज लामिछानेले जानकारी दिनुभयो । यस्तै व्यवसाय नविकरण दुईवटा तथा एउटा संस्था नविकरण भएको छ ।

पालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक संजीव सिंहका अनुसार शिविरको दोस्रो दिनपनि सेवा लिन उल्लेख्य मात्राका सेवाग्राही शिविरमा उपस्थित भए । सिंहका अनुसार शिविरकै क्रममा सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम समेत गरिएको छ । मामाङ्खेबाट सुरु भएको घुम्ति शिविर चैत ७ गते पालिकाको केन्द्र तेल्लोक आएर टुङ्गिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो ।

एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुने भएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts