|

स्थानीय कला,संस्कृति र पर्यटकिय क्षेत्रको प्रवद्र्धन केन्द्रित म्युजिक भिडियो सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ४ । कला,संस्कृति र पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनलाई केन्द्रबिन्दु बनाएर ताप्लेजुङको महिमा बढाउन तयार भएको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘ताप्लेजुङको शिरैमा सेतो जुहार,हिउँ होकी चाँदी हो झलझल मुहार’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईको शब्दमा तयार भएको गीतमा गायिका मिलन नेवार र इञ्जिनियर समेत रहेका गायक वीरेन्द्र श्रेष्ठले स्वर दिनु भएको छ । इञ्जिनियर श्रेष्ठ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका स्थायी बासिन्दा हुनुहुन्छ । ताप्लेजुङमा म्युजिक भिडियोको प्रति विमोचन भएसंगै भावसागर इन्टरटेनमेन्ट युट्युव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्युजिक भिडियोको छायाङ्कनमा ताप्लेजुङको उच्च हिमाली क्षेत्र कञ्चनजंघा,कुम्भकर्ण,सिञ्जेमा ताल,ओलाङचुङगोला,दिकीछ्योलिङ गुम्बा,तिम्बुङ पोखरी, फुङफुङे झरना,तिनजुरे–मिल्के सहितमा रहेका प्रमुख पर्यटकिय स्थलहरुका साथै यहाँका ९ वटै स्थानीय तहका पहिचान बोकेका क्षेत्रहरुलाई समेटिएको छ । भिडियोको कोरियाग्राफी देउमान(प्रताप )पालुङवा र गंगा श्रेष्ठले गर्नु भएको छ । जातीय विविधता,सांस्कृतिक र मौलिक परम्परामा आधारित भएर स्थानीय समुदायको संस्कृति र परिवेश केन्द्रित बिषयलाई गीति वृत्तचित्रको छायांकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

वृत्तचित्रका निर्माण संयोजक हर्कराज गुरुङ ताप्लेजुङको श्रीबृद्धिमा केन्द्रित गीतलाई म्युजिक भिडियोमा संस्कार,संस्कृति,सम्भावना बोकेको पर्यटकिय क्षेत्र र स्थानीय समुदाय तथा त्यहाँको मौलिक परिवेशलाई छर्लङ्ग उतार्नेगरी भिडियोमा कैद गरिएको बताउँनुहुन्छ । वृत्तचित्र तर्फको छायांकन केशव अधिकारी तथा सम्पादन प्रकाश बस्नेतले गर्नु भएको छ भने सांस्कृतिकतर्फको छायांकन सुभाष लिम्बूले गर्नु भएको छ । गीतमा शंकर थापा (स्माइल) को संगीत, विश्व अधिकारीको संगीत संयोजन र किशोर थापाको मिक्समास्टर रहेको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts