पत्रकारहरुको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै पत्रकार महासंघ ताप्लेजुङद्धारा सरकारलाई ज्ञापनपत्र

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । पत्रकारहरुको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ ताप्लेजुङले सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघका केन्द्रीय सदस्य माला पालुङवा,संस्थापक सभापति मनमणि काफ्ले,पूर्व अध्यक्षहरु खगेन्द्र अधिकारी र राजेन्द्र श्रेष्ठ सहित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यको उपस्थितिमा शाखा अध्यक्ष सुवास आचार्यले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउनु भएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयममा बुझाईएको ज्ञापनपत्रमा पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न,पत्रकार माथिको हिंसात्मक आक्रमणका संलग्नलाई कानुनी दाहेरामा ल्याउन तथा सञ्चारमाध्यम माथिको आक्रमण बन्द गर्न माग गरिएको छ । माग पूरा नभए पत्रकार महासंघ चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने समेत विज्ञप्तिमार्फत चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त विज्ञप्ति तत्कालै तालुक निकाय गृहमन्त्रालयमा प्रेषण गर्ने बताउनुभयो । प्रजिअ शर्माले पत्रकारको पेशागत सुरक्षा र जीवन रक्षाको सवालमा स्थानीय प्रशासन गम्भिर रहेको र नेपाल सरकारले समेत यस बिषयमा गम्भिरतापूर्वक कदम चालिरहेको अवगत गराउनुभयो । राजावादी सर्मथकको आन्दोलनका क्रममा चैत १५ गते काठमाडौंमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै विभत्स र सुनियोजित ढंगले मृत्यु भएको थियो । उक्त आन्दोलनको क्रममा कयौं ठाउँमा भएका हिंसात्मक घटना र सञ्चारकर्मी तथा सञ्चार संस्थाहरुमाथि भएको आक्रमणको महासंघले बिरोध गर्दै आइरहेको छ ।