| |

मालपोत कार्यालय ताप्लेजुङले छ महिनामै संकलन गर्यो एक करोड छ लाख राजस्व

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १९ । मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपियाँ बढी राजस्व संकलन गरेको छ । मालपोत कार्यालयले चालू आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्त सम्ममा उक्त राजस्व रकम संकलन गरेको हो ।
मालपोत कार्यालयका प्रमुख निर्मल शेर्पाका अनुसार चालू आवको साउन महिनादेखि पुस मसान्त सम्ममा कुल एक करोड छ लाख ३४ हजार ६४१ रुपियाँ राजस्व संकलन भएको छ । कुल रकममध्ये जग्गा रजिस्ट्रेसन दस्तुरबापत ६० लाख चार हजार २६४ रुपियाँ र पुँजीगत लाभकरबापत ४६ लाख ३० हजार ३७७ रुपियाँ राजस्व संकलन भएको कार्यालय प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
जग्गा कारोबार अर्थात रजिस्ट्रेसन प्रकारअन्तर्गत राजिनामा पासको सङ्ख्या ३५४ रहेको छ । राजिनामा पाससहित हालैको बकसपत्र, अंश भर्पाइ, अंशबण्डा, दर्ताफारी, छोडपत्र, संगोलनामा, भोग बन्धकी र दृष्टि बन्धकसमेत गरी छ महिनामा रजिस्ट्रेसन कार्यको सङ्ख्या ६९८ रहेको छ ।
यता जग्गा रजिस्ट्रेसनबापत संकलन भएको राजस्व रकम भने स्थानीय र प्रदेश सरकारलाई बाँडफाँड हुने कार्यालय प्रमुख शेर्पाले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशतका दरले राजस्व बाँडफाँड हुने व्यवस्था रहेको छ । पुँजीगत लाभकर बापत संकलन हुने राजस्व रकम भनेसंघीय सरकारको खातामा जम्मा हुने उहाँले जानकारी दिनुभयो ।
मालपोत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को छ महिना अर्थात पुस मसान्त सम्ममा रजिस्ट्रेसनबापत ६५ लाख ११ हजार ५०२ रुपियाँ राजस्व संकलन भएको थियो । त्यस्तै पुँजीगत लाभकरबापत ७३ लाख २६ हजार ६५१ राजस्व संकलन भएको थियो । गत आवको तुलनामा चालू आवको छ महिनामा केही कम राजस्व संकलन भएको मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts