| |

शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा सीसी क्यामरा जडान

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, माघ ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सीसी क्यामरा जडान गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा सीसी क्यामरा जडान गरिएको हो ।
शैक्षिक स्तर खस्किँदै गएको अवस्थालाई दुष्टिगत गरी शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा व्यवस्थित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षासहित विद्यालयमा सीसी क्यामेरा जडान गरिएको बताइएको छ । विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायतको निगरानी गर्न सकिने गरी सीसी क्यामरा जडान गरिएको विद्यालयले जनाएको छ ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सीसी क्यामरा जडान गरिएको हो । अध्यक्ष वनेमका अनुसार सो विद्यालयमा २६ वटा नयाँ सीसी क्यामरा जडान गरिएको छ भने ११ वटा पुरानो क्यामरालाई पनि मर्मत गरी सुचारु गरिएका छन् । यस्तै विद्यालयमा शिक्षकको डिजिटल हाजिरीको सुरुवात गरिएको पनि भएको उहाँले जानकारी दिनुभयो । एकथान स्मार्ट बोर्ड पनि जडान गरिएको विद्यालयले जानकारी दिएको छ ।
त्यस्तै गाउँपालिकाले छुट्टै नमुना विद्यालय विकास कार्यक्रम लागू गरी छनोट भएको मैवाखोला माध्यमिक विद्यलायमा पनि चालू आर्थिक वर्षभित्रै सीसी क्यामरा जडान गर्ने तयारी गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो । सीसी क्यामरासँगै शिक्षक डिजिटल हाजिरी र स्मार्ट बोर्डको व्यवस्था गरिने पनि उहाँको भनाइ छ । पालिकाभित्रका अन्य माध्यमिक विद्यालयहरुमा पनि क्रमशः इन्टरनेट सेवा विस्तार गरी विद्यालय विकास कार्यक्रम लागू गर्दै जाने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts