| |

फुङ्लिङमा पर्यटकलाई स्वागत

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज १० । विश्व पर्यटन दिवसको अवसरमा ताप्लेजुङमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित द होटल माउन्टेनले ताप्लेजुङ भ्रमणमा आउनुभएका विदेशी पर्यटकलाई स्वागत तथा सम्मान गरेको हो ।
सेप्टेम्बर २७ का दिन बुधबार ४४ औं विश्व पर्यटन दिवसको अवसरमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा अवस्थित ताप्लेजुङको भ्रमणमा आउनुभएका अमेरिकी मुलका विदेशी पर्यटकलाई द होटल माउन्टेनका सञ्चालक बिमल भण्डारीले स्वागत तथा सम्मान गर्नुभएको हो । सञ्चालक भण्डारीसहित द होटल माउन्टेन परिवारले ताप्लेजुङ भ्रमणमा आउनुभएका दुईजना पर्यटकलाई खादा पहिरिएर स्वागत गरेको हो ।
पर्यटकीय जिल्ला ताप्लेजुङको निरन्तर भ्रमणको निमन्त्रणा साथै विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न पर्यटकलाई स्वागत तथा सत्कार गरिएको द माउन्टेन होटलका सञ्चालक भण्डारीले बताउनुभयो । जिल्लाको भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सधैं स्वागत तथा सत्कार गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको पनि भण्डारीको भनाइ छ ।
स्थानीय पर्यटन तथा होटल व्यवसायी सबैले विदेशी पर्यटकको स्वागत तथा सत्कार गर्ने संस्कृतिलाई स्थापित गरिएमा समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नसक्ने भण्डारीको बुझाइ छ । पर्यटन दिवस वा अन्य अवसरमा मात्र नभई यहाँको भ्रमणमा आउने पर्यटकहरुलाई स्वागत र सत्कार गर्ने संस्कृतिलाई स्थापित गर्न पर्यटन प्रवर्द्धनका दृष्टिकोणले सधैं अपरिहार्य रहने पनि उहाँले बताउनुभयो ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । बुधबार नेपालमा पनि पर्यटकको स्वागत, सत्कारसहितका विभिन्न कार्यक्रमहरु आयोजना गरी पर्यटन दिवस मनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts