पाथीभरा मन्दिरमा ४७ देशका मुद्रा,झण्डै ८ करोड रकम मौज्दात,बर्षदिनमा दान र भेटीबाट मात्रै ३ करोड १९ लाख रुपैयाँ बढी संकलन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १० । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा नेपाल सहित ४७ देशका मुद्रा भेटिएका छन् । पाथीभरा क्षेत्र विकास समितिले आइतवार पत्रकार सम्मेलनमार्फत खर्च कटाएर समितिको खातामा ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ मौज्दात रहेको जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको उपस्थितिमा समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले खर्च बिबरण सार्वजनिक गर्नु भएको हो । यो रकम सुन,चाँदी सहितका गरगहना बाहेकको रकम हो । कूल ८ करोड ५९ लाख ९७ हजार १ सय ९४ रुपैयाँ आम्दानी भएकोमा ७१ लाख ८६ हजार ९ सय ८९ रुपैयाँ खर्च भई समितिको खातामा बाँकी रकम मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । आर्थिक बर्ष २०७९।८० को एकबर्षे अवधिमा भेटि र दान वापत मात्रै समितिले ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ आम्दानी भएको जनाएको छ ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार भेटि र दान वापत २ करोड ८५ लाख ६२ हजार ४ सय ९८ रुपैयाँ,सिक्का सहटीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ,दाताबाट बैंकमा सोझै जम्मा भएको रकम १४ लाख ५४ हजार ४ सय ३ रुपैयाँ र भेटी बापतको भारु सटही वापत १० लाख ८४ हजार ३ सय रुपैयाँ प्राप्त भएको  छ । समितिको कूल आम्दानीमध्ये ५ करोड ३ लाख १८ हजार ४ सय ८५ रुपैयाँ गत बर्षको बैंक मौज्दात रकम हो ।

समितिले बैंकमा रहेको रकमको ब्याजबाट मात्र ३७ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आय भएको जनाएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल बाहेक पाथीभरा मन्दिरमा अमेरिका,साउदी रव,मलेसिया,कतार,भुटान,कुवेत,हङकङ,कोरिया,दुबई,बेलायत,देशहरुका मुद्रा भेटिएका छन् । सिङ्गापुर,बंगलालेश,बहराईन,इराक,माल्दिभ्स,भियतनाम,फिलिपिन्स,इजरायल,म्यारमार,मकाउ,क्यानडा,ओमान,,सुडान,लिबिया,जोर्डन सहितका देशहरुका मुद्रा भेटिएका छन् । यस्तै पाकिस्तान,स्वीजरल्याण्ड,रोमानिया,चाइना,इण्डोनेसिया सहितका देशका मुद्रा समेत भेटिएको समितिले जनाएको छ । रंग लागेका बिदेशी मुद्राको सटही र व्यवस्थापन बाँकी रहेको समेत काफ्लेले जानकारी दिनुभयो । यसरी सटही हुन बाँकी रहेकोमा अमेरिकी डलर देखि अष्ट्रेलिया,साउदी अरव,कतार,दुवई,मलेशियन, लगायतका थुप्रै देशका मुद्रा बाँकी रहेको र मन्दिरमा चढाइएका सटही हुन बाँकी सबै मुद्राको बिबरण खाता तयार गरी दुरुस्त गरिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो ।
तीर्थालु घटे,भेटि र दान रकम बढ्यो
पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९।८० को एकबर्षे अवधिमा पाथीभरा मन्दिरमा २ लाख १ हजार ४ सय ४८ तीर्थालु आएका छन् । आर्थिक बर्ष २०७८।७९ मा २ लाख १३ हजार १ सय ८६ जना मन्दिरको दर्शन गर्न आएका थिए । तिर्थालुको संख्या घटेपनि भेटि,दान र दाताबाट संकलन भएको रकममा भने बृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार आव २०७८।७९ मा भेटि,दान र दाताबाट २ करोड ८९ लाख ४१ हजार,१ सय २७ रुपैयाँ आम्दानी भएको थियो । करिव १२ हजार तिर्थालु कम भएको बर्ष २०७९।८० मा भने भेटि,दान र दाताबाट ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ संकलन भएको छ ।

आव २०७९।८० मा अन्धशुक्र र बाढीले पाँचथरको हेंवाखोला सहितका स्थानमा भएका मोटरेवल पुल बगाउँदा यो समयमा तीर्थालु कम भएको पाथीभरा क्षेत्र विकास समितिको ठम्याई रहेको छ । आव २०७८।७९ को सुरुआती महिना साउन र भदौमा कोभिड संक्रमणका कारण तिर्थालु नआएको समेत समितिले जनाएको छ । आयब्यय बिवरण सार्वजनिक कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुङ्वा,कर्मचारी नबिन निरौला सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts