मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेसँगै यातायात सुचारु

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक बैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।
मेची राजमार्गअन्तर्गत ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक बैशाखे भीरमा माथिबाट ठूल–ठूला चट्टानसहित खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीका अनुसार करिव ३० मिटर दूरीभित्र पुरै सडक ढाक्नेगरी खसेको पहिरोले बिहीबार एकदिन पुरै मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो ।
पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सुपरभाइजर उप्रेतीले बताउनुभयो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलेसँगै दिनभर रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए । ताप्लेजुङ भित्रने सवारी साधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधनहरु गन्तव्यतिर लागेका थिए ।
सडक अवरुद्ध भएका कारण जिल्लाकै पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका लागि छुटेका सवारी साधन र जिल्ला बाहिर चल्ने लामो दूरीका सवारी साधन खोक्से क्षेत्रमै दिनभर रोकिएका थिए । पहिरोले सवारी आवागमन ठप्प भएर दिनभर बीच बाटोमै रोकिनुपर्दा गन्तव्यमा पुग्न नपाएका यात्रुहरु बिजोग भएका थिए । यात्रुहरुले सडक खुल्ने आशामा दिनभर पहिरो खसेकै क्षेत्रमा रहनुपरेको थियो ।
यता गएराति अबेर राजमार्गको अवरुद्ध खुलेसँगै शुक्रबार भने बिहानैदेखि ताप्लेजुङ सदरमुकामबाट सवारी साधनहरु छुटेका छन् । जिल्लाभित्र आन्तरिक यातायात तथा जिल्ला बाहिर पाँचथर, इलाम झापा, सुनसरी धरान हुँदै राजधानी काठमाडौं सम्मका लामो दुरीका सवारी साधनहरु बिहान ४ बजेदेखि नै छुटेका फुङ्लिङका जिप काउन्टर सञ्चालक भीषण लिम्बूले बताउनुभयो ।
पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय इलामको मेशिन (ब्याकहो लोडर) दुई र फुङ्लिङ नगरपालिकाको जेसीभीसहित तीनवटा उपकरण प्रयोग गरिएको थियो । ठूला चट्टानसहित पहिरो खसेका कारण अवरुद्ध हटाउनलाई लामो समय लागेको प्रहरीले जनाएको छ ।