ताप्लेजुङ बाढी पहिरो ः १३ घर पूर्ण रुपमा क्षति,तीनदिन भित्र बिस्थापितको यकिन तथ्याङ्क संकलन हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ५ । जिल्ला बिपद् व्यवस्थापन समितिले जेठ मसान्त देखि मंगलवार सम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्ण रुपमा क्षति भएको बताएको छ ।
पहिरोमा परी ३ जनाको मृत्यु,३ जना बेपत्ता र ३ जना घाइते भएको समेत बिपद् व्यवस्थापन समितिले बताएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा क्षति भएको छ ।
सिदिङ्वा वडा न ६ मेहेले, सिदिङ्वा वडा नं ७ सुरुम्खिम र सिरिजङ्गा वडा नं ७ खेवाङमा २–२ घर,सिदिङ्वा वडा नं ३ आङ्खोपमा ४ घर, सिरिजङ्गा वडा नं ८ याम्फुदिन,मैवाखोला वडा नं ३ र साँघु र वडा नं ४ साँघुमा १–१ घर पूर्ण रुपमा क्षति भएको बिपद् व्यवस्थापन समितिले बताएको छ ।
पहिरोमा परी सिदिङ्वा वडा नं मेहेलेका गणेश तामाङ,केशरबहादुर राई र सुरेश राईको मृत्यु भएको तथा मेहेलेकै एकाघरका भगिमाँया बुढाक्षेत्री,सन्ध्या बुढाक्षेत्री र प्रज्ववल बुढाक्षेत्री बेपत्ता भएको जिल्ला बिपद् व्यवस्थापन समितिले बताएको छ ।
पहिरोमा परी मैवाखोला हाईड्रोपावरमा कार्यरत भीमबहादुर तामाङ उपचार पछि घर फर्किएको र सिदिङ्वा वडा नं ६ का राजकुमार राईको बिराटनगरमा र बिर्खबहादुर लिम्बूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत समेत बिपद् व्यवस्थापन समितिले जनाएको छ ।
बेपत्ताको खोजी कार्यलाई तीव्रता दिने
जिल्ला बिपद् व्यवस्थापन समितिले बेपत्ता सदस्यको खोजतलास कार्यलाई निरन्तरता दिदै यो कार्यलाई थप तीव्रता दिने निर्णय लिएको छ । सिदिङ्वा वडा नं ७ मेहेलेमा एकाघरका ३ जना बेपत्ता छन् ।
नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीय तह तथा स्थानीय बासिन्दा समेतलाई परिचालन गरी बेपत्ता सदस्यको खोजतलास कार्य जारी राख्ने बिपद् व्यवस्थापन समितिले निर्णय लिएको हो ।
यस्तै बिपद् व्यवस्थापनमा संलग्न सबै निकायहरुले बिपद् प्रतिकार्यका क्रममा आफुसंग उपलब्ध स्रोत,साधन र जनशक्तिको उल्लेख्य परिचालन र पूर्ण तयारी हालमा राख्ने समेत निर्णय भएको छ ।
बैठकले पूर्ण घर क्षति भएका परिवारलाई प्रति परिवार कम्तिमा ६ बण्डल कर्कटापता उपलब्ध गराईदिन कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय लिएको छ ।
३ दिन भित्र बिस्थापित परिवारको पूर्ण बिबरण संकलन गरिने
जिल्ला बिपद् व्यवस्थापन समितिले मंगलवारका मितिबाट ३ दिन भित्र बाढी पहिरोबाट बिस्थापितहरुको बिबरण संकलन गरी सम्वन्धित स्थानीय तहमार्फत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने भनेको छ ।
राहतको प्रवन्ध गरिदैं
जिल्ला बिपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट मृत्यु भएका परिवारका नजिकका हकदार र पूर्ण,आशिंक तथा सामान्य क्षति भएका परिवारलाई मापदण्ड बमोजिम तत्काल आर्थिक सहयाता उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
यस्तै आशिंक र सामान्य क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरिएको छ ।
बैठकले घाइतेहरुको स्थानीय अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने र थप आर्थिक सहयाताका लागि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै तत्कालिन तथा दीर्घकालिन राहतका लागि नेपाल रेडक्रस सोसाईटीमार्फत रेडक्रसको अन्तराष्ट्रिय महासंघ,विश्व खाद्य कार्यक्रम,सेभ द चिल्ड्रेन लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायलाई अनुरोध गरिएको छ ।
पहिरोमा परी घर क्षति भएका मध्ये केहि परिवार आफ्नै घरमा,केहि परिवार आफन्तकोमा र केहि परिवार आश्रयस्थल बनाई बसेकोले रेडक्रस सोसाईटीले तत्काल गैर खाद्य राहत सामग्री उपलब्ध गराउने र अन्नपात क्षति भएका परिवारलाई तत्कालको गुजाराका लागि सम्वन्धित स्थानीय तहमार्फत आवश्यक प्रवन्ध मिलाईने निर्णय समेत जिल्ला बिपद् व्यवस्थापन समितिले लिएको छ ।