ताप्लेजुङमा मनाइयो अन्तराष्ट्रिय आरोग्य दिवस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २ । ध्यान तथा योग गर्दै बुधवार ताप्लेजुङमा अन्तराष्ट्रिय आरोग्य दिवस मनाईएको छ ।

पतञ्जली योग समिति ताप्लेजुङ र जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा अन्तराष्ट्रिय आरोग्य दिवस मनाईएको हो । ध्यान तथा योग पछि आयोजित यसको उद्देश्य तथा महत्व माथि प्रकाश पार्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले समग्र स्वास्थ्य,सुख र सन्तुलित जीवनशैलीका लागि ध्यान तथा योग महत्वपूर्ण हुने बताउनुभयो । पतञ्जली योग समितिका कोशी प्रदेश समिति सदस्य शान्ति मादेनले योग तथा ध्यान जीवनशैली सुधार र स्फुर्त शरीरका लागि महत्वपूर्ण हुने बताउनुभयो । लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले सुलभ स्वास्थ्य अभ्यास,निरोगिता र एकाग्र मनका लागि ध्यान तथा योग उपयुक्त माध्यम हुने बताउनुभयो ।

नेपालको प्रस्ताव र अगुवाइमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । नेपालले गरेको प्रस्तावलाई राष्ट्रसंघको महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सोहि अनुरुप यो दिवस यसै वर्षदेखि विश्वभर मनाउन थालिएको हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय,स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवद्र्धनमा योगदान पुग्ने उल्लेख गरेको छ ।

Similar Posts