सिरिजङ्गाको छात्रबृत्तिबाट अध्ययन गरेका अतित बने एमबिबिएस डाक्टर,दिए पालिकालाई धन्यवाद !
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको छात्रवृत्ति पाएका सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनाममा अतित अधिकारीले एमबिबिएस तहको अध्ययन पूरा गर्नु भएको छ । एमबिबिएस तहको अध्ययन पूरा गर्नु भएका उहाँ सिरिजङ्गाकै बिद्यालयबाट अध्ययन पूरा गरी पालिकाको छात्रबृत्तिबाट एमबिबिएस ‘डाक्टर’उपाधि हाँसिल गर्ने पहिलो व्यक्ति बन्न लाग्नु भएको छ ।
मेडिकल काउन्सिलको परीक्षाबाट उर्तीण भएपछि उहाँलाई पूर्ण रुपले ‘डाक्टर अतित’भन्न सकिने छ । सिरिजङ्गाले प्रदान गरेको पालिकाको छात्रबृत्तिबाट एमबिबिएस अध्ययन पूरा गर्नु भएका अतितले मेडिकल काउन्सिलको परीक्षा अबको ६ महिना भित्र हुनसक्ने बताउनुभयो । एमबिबिएसको पढाई सकी चितवनमै रहेर मेडिकल काउन्सिलको परीक्षाको तयारी गर्दै गर्नु भएका अतितले खुसीहुँदै सिरिजङ्गा गाउँपालिका परिवारलाई मनैबाट धन्यवाद दिनुभयो । भन्नुभयो‘पालिकाले म प्रति लगाएको गुन बिर्सिन्न’ । पालिकाका तत्कालिन र वर्तमान अध्यक्ष,उपाध्यक्ष र सन्तोष घिमिरेसहित त्यसपछिका प्रमुख प्रशासकीय अधिकृत सरहरु मेरालागि पिता सरह हुनुहुन्छ’ ।
अभिलेख अनुसार एमबिबिएस अध्ययनको छात्रबृत्ति पाउनु भएका अतितको अध्ययन शुल्कको पहिलो किस्ता २०७८ साल कात्तिक ३० गते सिरिजङ्गा गाउँपालिकाले उनी अध्ययनरत मेडिकल कलेजमा भुक्तानी गरेको थियो । त्यसपछि पालिकाले अतितसंग सम्झौता अनुसार सबै रकम सम्वन्धित मेडिकल कलेजलाई भुक्तानी गरिदियो । मेडिकल काउन्सिलको परीक्षा उर्तीण हुने र एकबर्षसम्म इन्टर्नको काम सकेर आफुले गरेको कवुलियतनामा अनुसार पालिकामै रही सेवा गर्ने अतितको भनाई छ । सिरिजङ्गा गाउँपालिकाको छात्रबृत्ति सम्वन्धी ऐन २०७८ अनुसार डाक्टर अतितले अब दुईबर्ष पालिकाकै रहेर सेवा गर्नुपर्ने हुन्छ ।
पालिकाको छात्रबृत्ति सम्वन्धी ऐन २०७८ को परिच्छेद ७ नं मा एमबिबिएस अध्ययन छात्रबृत्ति सम्वन्धी व्यवस्था गरिएको छ । सोहि परिच्छेदको नं १५ अनुसार एमबिबिएस अध्ययनको छात्रबृत्तिका लागि छनौट भएका बिद्यार्थीले अध्ययन सम्पन्न भएपश्चात कम्तिमा दुईबर्ष गाउँपालिकाकै रही सेवा गर्नेगरी गाउँपालिका समक्ष अध्ययनमा जानु अघि कवुलियत नामा गर्नुपर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र अधिकारीबिच कवुलियतनामा भएको थियो ।
पालिकाले प्रदान गरेको छात्रबृत्ति पाएर एमबिबिएस पूरा गरी डाक्टर बनेकोमा अतितलाई बधाई दिदैं सिरिजङ्गा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सिरिजङ्गा गाउँपालिकाले आफ्नै भूमिको डाक्टर पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले तत्कालिन पालिका अध्यक्ष टीकाराम गुरुङ र वर्तमान पालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्रकुमार मावो सहित पालिका परिवारलाई समेत बधाई र शुभकामना दिनु भएको छ ।
तत्कालिन पालिका अध्यक्ष गुरुङले आफु निर्वाचित भएको दोस्रो बर्षमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हरेक बर्ष पालिकाका एक स्थायी बिद्यार्थीलाई एमबिबिएस अध्ययन गर्न छात्रबृत्ति उपलब्ध गराउने,कक्षा ११ र १२ को शिक्षा निःशुल्क गर्ने,कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई बिद्यालय झोला र पोशाक निःशुल्क उपलब्ध गराउने,प्राविधिक विधामा पालिकाका बिद्यार्थी पढाउन आवास सहितको छात्रबृत्ति उपलब्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम ल्याउनु भएको थियो । केहि कार्यक्रमका प्रारुप संशोधन तथा परिमार्जन भएपनि अहिलेको पालिका पदाधिकारी टिमले समेत उक्त कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।