जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गर्दै मैवाखोला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका ‘क’ र ‘ख’व्यक्तिलाई घरदैलोमै पुगी स्वास्थ्य परीक्षण गर्ने कार्य चालु बर्षमा समेत सुरु गरेको छ ।
पालिकाले यो कार्यक्रमलाई विगत बर्षझैं यसबर्ष समेत निरन्तरता दिएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण तथा आधारभूत औषधि समेत बितरण गर्नेछन् ।
कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०८२।८२ को एकबर्षे अवधिमा पालिकाले ६ सय १६ जनालाई घर–घरमै पुगेर सेवा दिएको थियो । उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएका जेष्ठ नागरिक र शारीरिक रुपमा अक्षम रहेका नागरिकलाई घरबाटै सेवा प्रदान गर्न पालिकाले यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याई रहेको छ ।